टिम्बुरवोटे जस्तै दाङको कचिला काण्ड

– बलदेव शर्मा मजगैयाँ

हामीले भर्ना लिएका संस्थामा हाजिरीको समस्या थिएन । खाली फिस बुझाए पुग्दथ्यो । यसरी हामीहरूलाई बीचबीचमा भूमिगत रूपमा जिल्लाहरूमा गएर आफ्ना कार्यक्रमहरू गर्ने समय मिल्दथ्यो । हामी बीचबीचमा जिल्ला गएर फर्केपछि पुनः आफ्ना पढाइ सुचारु गर्दथ्यौं ।  त्यो यस्तै २०३०, ३१ सालको कुरा हो । त्यो समयमा नेपालमा वायुसेवाको विमान अपहरण भइसकेको थियो । त्यस समयमा बीपी कोइरालाको नेतृत्वमा हतियार बन्द विरोधको राजनीति सुरु भइसकेको थियो । नेपालमा शान्तिपूर्ण तरिकाबाट प्रजातन्त्र स्थापना हुने सम्भावना नदेखेपछि बीपीको नेतृत्वमा सशस्त्र संघर्षको नीति सुरु भएको थियो । सम्पूर्ण देशमा भूमिगत रूपमा पार्टी संगठनहरू विस्तार भइरहेका थिए ।

त्यस समयमा खासगरी पूर्वाञ्चलमा हतियार बन्द घटना घटिरहेका थिए । यसरी प्रहरी थाना कहीँ प्रहरी चौकीहरूमा बमबाट आक्रमण भइरहेको थियो । यसरी पञ्चायती व्यवस्थाको विरोधमा जनतालाई सचेत एवं ब्युँझाउने प्रयास भइरहेको थियो । नेपाली कांग्रेसको नीति नै बारुद र बन्दुकको आवाजले नेपाली जनतालार्ई खासगरी युवा जमातलाई जागरुक गराउने थियो । यसैको उद्देश्यका लागि नै तरुण नामक पत्रिकाको प्रकाशन प्रारम्भ गरियो । जसको प्रथम सम्पादक शैलजा आचार्य हुनुभयो । यो पत्रिकाको मुख्य उद्देश्य युवाहरूलाई वर्तमान समयमा उनीहरूको दायित्वलाई बुझाउनु थियो । ताकि युवाहरूको सहयोगबाट प्रजातन्त्रको बहालीका लागि राजालाई दबाब दिन सकियोस् ।

जब हामीहरू दाङको योजनामा जान थाल्यौं, बीपीले हामीलाई प्रस्टसँग निर्र्देशन दिनुभएको थियो । तिमीहरू हतियार लिएर जाँदैछौं । यो कुरा कहिल्यै नभुल्नु कि भोलि प्रजातन्त्र आएपछि तिमीहरू निहत्था नै जनताका बीच जानुपर्ने हुन्छ । अनि तिमीहरूका आजका क्रियाकलापको कुनै दिन जनताले हिसाबकिताब माग्नेछन् । त्यो समयमा जनतालाई के जवाफ दिने हो आजै सोचिराख्नू । त्यसैले तिनीहरूका सारा गतिविधिहरू त्यही अनुरूप हुनुपर्दछ । अन्यथा भोलि जनताका सामुन्ने तिमीहरूलाई लज्जित हुनुपर्नेछ ।  जो नेता कुनै कारणवश जनताको नजरमा एकपटक बदनाम हुन्छ, त्यसले फेरि जनताको नजरमा माथि उठ्नु सहज हुँदैन ।

बीपीले त्यो निर्देशन दिने बेला सरोजप्रसाद कोइराला पनि सँगै हुनुहुन्थ्यो । मेरो सरोजप्रसाद कोइरालासँग सर्वप्रथम त्यही समयमा परिचय भएको थियो । हामी दाङबाट फर्किएको केही समयपछि पञ्चायती सरकारले कायरतापूर्ण कार्य गरेर उहाँको हत्या गरायो । दुर्भाग्यले मेरो सरोजप्रसाद कोइरालासँगको त्यही भेट प्रथम र अन्तिम हुन पुग्यो । केही समयको भेटमा नै मलाई अनुभव भएको थियो कि उहाँ सुन्दर व्यक्तित्वका धनी मात्र होइन, एक कुशल एवं सुल्झिएको नेता हुनुहुन्थ्यो । उहाँ जीवित भएको भए अवश्य पनि नेपाली काग्रेसको शीर्ष नेतृत्व लिनुहुन्थ्यो । त्यही एक मात्र भेटले पनि सशस्त्र संघर्षमा उहाँको अभाव हामीहरूले महसुस गर्‍यौं ।

यसै क्रममा उहाँहरूसँग बिदा भएर हामीहरू दाङमा अञ्चलाधीश कार्यालयको भवनमा विस्फोट गराउने उद्देश्यका साथ बिदा भयौं । खुमबहादुरजी, म, तीर्थराज चैतुजी, पदमबहादुर थापा, गेहेन्द्र गिरी बनारसबाट भूमिगत रूपमा दाङका लागि प्रस्थान गर्‍यौं । अरु साथीहरू दाङमै रहेकाले उहीबाट हामीसँग सामेल हुने सल्लाह भएको थियो । हामीलाई गिरिजाप्रसाद कोइरालामार्फत त्यसकार्यका लागि चाहिने सम्पूर्ण सामानहरू दिइएको थियो । हामीहरूले अत्यन्त सतर्क र गोपनीयताका साथ बनारसबाट निस्कनु थियो । एक त त्यस समयमा बनारसमा नेपाल सरकारका जासुसहरू छ्यासछ्यास्ती थिए । त्यसबाहेक हामीले भारतीय जासुसहरूबाट पनि जोगिनु पर्ने थियो । त्यो समयमा हतियारसहित बनारसबाट दाङ पुग्नु स्वयम्मा जोखिमपूर्ण थियो । झन् त्योभन्दा पनि जोखिम त ती हतियारहरू नेपाल भारत सीमाबाट कसरी लैजाने ? भारतीय प्रहरीबाट पकडिए पनि सोझै जेल जानुपर्ने नेपाली प्रहरीले पकडे त झन् कुरै सकियो । मेरो मनमा भने अझ अर्को पिरलो पनि थियो किनभने म भर्खर जेलबाट छुटेर आएको थिएँ । केही गरी पक्डिए भने प्रशासनभन्दा पनि घरका मानिसले के भन्लान् ? एउटा कुरा भने पक्का थियो कि मलाई भनेर पठाउने गरेको पैसा पनि रोकिनेछ ।

तर परिणाम जे भए पनि प्रजातन्त्रको लडाइँको यो अवसर गुमाउन हुन्न भनेर मैले जाने निर्णय लिएको थिएँ । हुन पनि यो गणितीय हिसाबले राजनीति हुन त सक्ला । हिजोआज हामीले धेरैले गणितीय हिसाबले कैयौ मन्त्री, सांसदहरू भएको देखेका पनि छौं । तर गणितीय हिसाबमा हतियारबन्द संघर्ष सम्भव हुँदैन । यो त देश र प्रजातन्त्रका लागि सहिद हुनु परे पनि सौभाग्य हो भन्नेले मात्र लड्न सक्दछ ।  हामले एउटा गाडी भाडामा लियौं । हामी साँझपख बनारसबाट बहराइचको लागि हिँड्यौ । ट्याक्सी बहराइचदेखि अगाडि जान नपाउने रहेछ । त्यहाँबाट हामीलाई रुपैडियासम्म बसबाट जानुपर्ने बाध्यता थियो जो अत्यन्त जोखिमपूर्ण यात्रा थियो । खुमबहादुरजी केही कामले बहराइचमै रोकिनु भयो हामीले उहाँलाई रुपैडिया रेल्वे स्टेसन पर्खनुपर्ने भयो ।

हामीले सकुशल रुपैडिया रेलवे स्टेसनमा पुगेर खुमबहादुरजीलाई पर्खन थाल्यौं । केही क्षणपछि हामीलाई लाग्यो कि धेरै समयसम्म यहाँ बस्नु झनै जोखिमपूर्ण हुन सक्दछ । अनि हामीहरूले नेपाल छिर्ने निधो गर्‍यौँ । हामीले सीमापार गर्ने तय गरेका ठाउँबाटै नेपालको सीमामा प्रवेश गर्‍यौँ । रुपैडिया रेल्वेको अन्तिम चेकपोस्टको माथिल्लो कोठाबाट को हौं भन्ने आवाज आयो । हामीहरू अँध्यारोको फाइदा उठाउँदै नेपाली सीमामा पुगिहाल्यौं ।

त्यहाँ हामीले धानको खेत भेटायौं त्यो हाम्रो करिबकरिब तय भएको ठाउँ नै थियो । हामी जहाँ बसेका थियौं त्यो ठाउँ खुमबहादुरजीलाई थाहा हुने कुरा थिएन । त्यसकारण उहाँलाई लिन हामीमध्येबाटै जानुपर्ने भनेर गए । त्यही समयमा हो चैतुले चुरोट पिउनका लागि लाइटर बाल्दा दस मिटर अगाडि भालु भेटिएको थियो । त्यो पनि एक पटक होइन दुईदुई पटक । यो प्रसंगलाई मैले मेरो उपन्यास कुहिरोमा यहाँदेखि बनारस फर्किंदासम्मको घटनालाई उल्लेख गरेको छु । नेपालगन्जका पूर्वी गाउँहरू हुँदै हामीहरू दाङ जाने समयमा नदन शर्मा थानागाउँका शंकर मजगैया हामीसँग नियोजित ठाउँमा भेटिए । अनि सबैजना दाङ कचिला शिव गिरीको गाउँमा पुग्यौ र घमण्ड गिरीका घरमा बस्यौं । त्यही शिव गिरी, महादेव, शाह, कमानसिंह डाँगी (बागमारे) पनि हामीसँग सामेल हुनुभयो ।

हामीहरू कचिला बसेको चारपाँच घण्टा भएको थियो । तुलसीपुरबाट थाना प्रमुखको नेतृत्वमा आएको टोलीले गेहेन्द्र गिरी घमण्ड गिरीलाई समातेर लगे । प्रशासनले हामी आएको र हामी बसेको घरसमेत थाहा पाएछ । हामीहरू अर्कै स्थानमा भएकाले हामी भने पक्डिनबाट जोगियौं । मलाई त लाग्दछ कि प्रहरीले हामीलाई पकडिने आँट नै गरेन् । किनभने गेहेन्द्रजीलाई पकडेपछि प्रहरीले हामी बारेमा सोधपुछ नै गरेनछ ।

कतै न कतै त हामीबाट त्रुटि भएको थियो । होइन भने प्रहरीले कसरी हामीहरू आएको केही घण्टामै घरमसेत पत्ता लगायो ? गेहेन्द्रजीहरू पक्डिए पछि हामीहरू पनि त्यहाँबाट भाग्नुपर्ने भयो । हामीले नौ दसजना हतियारधारी प्रहरीले गेहेन्द्रजीहरूलाई लैजान लागेको देख्यौ तर केही गर्न सकेनौं ।  हामीलाई एकातिर अझै अञ्चलाधीश कार्यालयको योजना सफल पार्न सकिन्छ कि भन्ने थियो । त्यसैले हामी दुविधामा प¥यौं । त्यो बेलासम्म हाम्रो नीति हान र भागको सकेसम्म ज्यान मालको क्षति नगर्ने भन्ने थियो । वास्तवमा हामीसँग यस्तो अवस्थामा मुठभेडको तालिम पनि थिएन । तालिमको कमीले गर्दा नै हामीले तत्काल के गर्ने भन्ने निर्णय गर्न सकेनौं ।

पछि हामीलाई लाग्यो सायद अब यस पटक हाम्रो योजना रोक्नुपर्दछ । सायद आजै गेहेन्द्रजीहरूलाई घोराही लैजान्छ । गेहेन्द्र गिरीहरूलाई बाटोबाटै प्रहरीको कब्जाबाट छुटाऊँ । योजनाअनुसार हामीहरूले पत्री फाल्ने सोतालाई नै उपयुक्त स्थानको रूपमा छान्यांै । त्यहीं हामीसँग हापुर परेनीका नुमाकान्त दाहाल पनि त्यो योजनामा सामेल हुनुभयो । तर गेहेन्द्र गिरीहरूलाई केही दिन घोराही ल्याउँदैन भन्ने थाहा पाएपछि त्यो योजना पनि स्थगित गर्नुपर्‍यो । हामीलाई पक्डन प्रशासनले चारैतिर छ्यापछ्याप्ती सुरक्षाकर्मीहरू खटाएको पनि खबर पाइरहेका थियौं । त्यसपछि हामीहरू अब बनारस नै फर्कन उपयुक्त हुन्छ भन्ने निधोमा पुग्यौं । सबैजना सँगै हिँडे एकै पटक सबै समातिने सम्भावना भएकाले बरु पकडिए पनि सबै किन पकडिने भन्दै हामीले अलगअलग भएर हिँड्ने निधो गर्‍यौ । म अनि मुकुन्द गौतम एउटा बाटोबाट, खुमबहादुरजी, चैतुजी, पदमबहादुर थापा अर्को बाटोबाट, महादेव शाह, शिव गिरी अर्को बाटोबाट जाने निधो भयो । अब नपक्डिए बनारसमै भेट हुने सल्लाहअनुसार आ–आफ्नो बाटो लाग्यौ । यसरी तीन ग्रुप तीन बाटो भएर हामीहरू अलग्गियौं । को कुन बाटो जाने हो दिशामात्र बताइयो ।

पछि नन्दनजीमार्फत थाहा भयो गणेशकुमारजीले हाम्रो योजनाको लागि अहिले उपयुक्त समय नभएकोले नसघाउने भन्नुभएको रहेछ । त्यसपछि गणेश कुमारजीलाई जानकारी गराउनु पनि हाम्रो भूल भएको हाम्रो निष्कर्ष रह्यो ।  गेहेन्द्रजीबाहेक बनारसबाट गएका सबैजना पुनः सकुशल बनारस पुग्यौं । हामी बनारस पुग्नुभन्दा पहिले नै बीपीले हाम्रो मिसन असफल भयो भन्ने थाहा पाइसक्नु भएको रहेछ । उहाँहरू पनि हामी सकुशल फर्किएकोमा प्रसन्न हुनुभयो । यदि हामीहरू कसैगरी पकडिएको भए हाम्रो जीवनको नै खतरा रहेको उहाँले बताएप्छि हामीहरूलाई डर लाग्यो ।  पछि त्यस समयमा हामीले ल्याएका हतियारहरू राखेको अभियोगमा बुद्धिराम भण्डारी, रणबहादुर पछार्इं, हरि ‘जरा’, पर्साका भरत आचार्य, गिरिरिाज आचार्य, बोधीलाल योगी, ओमप्रकाश योगीहरू जेल पर्नुभयो ।

त्यो कोचिला काण्डमा मेरो संलग्नता परिवारलाई थाहा हुने नै भयो । दाजुहरू मसँग यति रिसाउनु भयो कि मेरो अनुमानअनुसार नै मलाई पठाउने खर्च पनि बन्द भयो । दाजुहरू मसँग यस कारण पनि रिसाउनु भएको थियो कि उहाँहरूले जेलबाट छुट्नासाथ मेरो विवाह गर्ने निश्चय गर्नुभएको रहेछ । जबकि त्यो समयमा बहिनी कमलाको पनि पहलुवाका मदन रसिकसँग विवाह भइसकेको थियो । त्यसैले दाजुहरूले मेरो विवाहको लागि एक जना कन्यालाई हेरेर कन्या पक्षलाई आश्वासन पनि दिइसक्नुभएको रहेछ । तर दाजुहरूलाई मेरो मनले निश्चय गरेको कुरा थाहा हुन सक्ने कुरा थिएन । वास्तवमा म जुन बाटामा हिँडिरहेको थिएँ, त्यो अत्यन्त जोखिमपूर्ण छ भन्ने मलाई राम्रोसँग थाहा थियो । म विवाह गरेर कुनै निर्दोषको जीवनलाई संकटमा पार्न तयार थिइनँ । तर म यो कुरा दाजुहरूलाई भन्न पनि सक्दैनथेँ । यदि मैले भनेको भए म बनारस जान नै पाउने थिइनँ ।

त्यस समयमा धेरैलाई लागेको थियो कि मेरो कसैसँग प्रेम छ । त्यसैले म विवाह गर्न मानिरहेको छैन । वास्तवमा सत्य त्यस्तो थिएन । म नौ, दस कक्षादेखि नै राजीतिमा होमिन पुगेँ र यसरी एकोहोरो भएर लागेँ कि प्रेमको चक्करमा पर्नेतिर सोच्नै सकिएन । वास्तवमा प्रेम गर्नलाई केही खास प्रकारको कला कौशल हुनु आवश्यक हुन्छ । सायद प्रेम गर्न लाज नमान्ने, वाक्पटुता एवं रातोदिन त्यसैमा लम्पट हुन सक्ने विशेषताहरू आवश्यक हुन्छन् । ममा न त त्यसखाले विशेषता थिए न त मलाई प्रेम गर्ने कला नै आउँथ्यो । जसले अरूले खोजिदिएको कन्यासँग बिहे गर्ने साहससम्म गरेन त्यसले कहाँबाट प्रेम गर्ने ? स्कुलमा पढ्ने सुन्दर केटीहरूलाई पनि त्यस दृष्टिबाट हेर्न सकिएन । मन परेकालाई बरु बहिनी बनाइयो ।

मेरो आत्मआख्यानको प्रथम खण्डमा त्यस प्रकारको प्रेमको सर्वथा अभाव छ । वास्तवमा युवोचित प्रेम प्रसंगहरूको समय आइपुगेको थिएन । यसमा न त मेरो विवाहको प्रसँग छ । हामीहरू सम्पूर्ण नेपालीहरूलाई प्रेम गर्न हिँडेका मानिस कुनै एकलाई माया गर्ने समय नै मिलेन भन्दा अन्यथा नहोला । त्यस समयमा हामीमा देशको लागि साँच्चिकै शहादतको भावना परिपूर्ण थियो । हामी बाँच्न सक्यौ त्यो बेग्लै कुरा हो ।  उता दाजुहरूको कुरा पनि त ठीकै थियो । भाइले पढ्ला भनेर उहाँहरूले बनारस पठाउनु भएको थियो । जेलबाट छुटेको केही महिनामै फेरि जेल जाने तयारी गर्ने त्यसैले उहाँहरूले मलाई राजनीति गर्न किन विदेशमा पैसा पठाउने ?

पछि जब मजस्तो बेठेगानको मान्छेले बीए प्रथम वर्षमा ५४ प्रतिशत अंक ल्याएँ, अनि दाजुहरूलाई लागेछ कि अब यसले पढ्न थाल्यो । तब मात्र घरबाट पैसा पठाउन थाल्नुभएको थियो । त्यो बेलासम्म हामी सबै साथीहरूको सम्पत्ति रोक्का भइसकेको थियो । हामीहरूको परिवारलाई यति आतंकित पारिएको थियो कि मेरा सबै चिठी एवं मनिअर्डरहरू अनिलचन्द्र जोशीको नामबाट आउँथे । त्यसपछि दाङमा हुने सबै राजनीतिक घटनामा हामीलाई मुछेर मुद्दा लगाइन थालिए । हामीमाथि आजन्म काराबासका मुद्दाहरू, डाँका मुद्दा, राजकाज अपराध, राजद्रोह, खरखजाना, आजन्म काराबास आदिका मुद्दाहरू लगाइयो । नेपालमा हामीमाथि जति धेरै मुद्दा थपिँदै जान्थे हामीलाई त्यति नै धेरै पदवी पाएको जस्तो भान हुन्थ्यो ।

त्यही समयमा मंगलादेवी सिंह, नोना कोइराला, मनोहरि बरालसँग बनारसमै मेरो प्रथम पटक चिनजान भएको थियो । मनोहरि बराल, गिरिजाप्रसादका परममित्र हुनुहुन्थ्यो । मनोहरिदाले चाहेको भए गिरिजाप्रसाद कोइरालाबाट रोजेको पद प्राप्त गर्न सक्नुहुन्थ्यो । तर उहाँले कहिल्यै कुनै पद चाहनु भएन । सुशील कोइराला, शैलजा आचार्य, एवं चक्रप्रसाद बाँस्तोलासँग त्यही गहिरो चिनजान भयो । त्यही समयमा सहिद राम, लम्क्षण, लीला दाहाल, ओखलढुंगाका क्याप्टेन यज्ञबहादुर थापा, ठगी दाहाल, गोकर्णहरूसँग परिचय हुने अवसर मिलेको थियो । प्रदीप गिरी पनि त्यो समयमा त्यही हुनुहुन्थ्यो । उहाँ र हरिहर विरहीलाई बीपी कोइरालाले तरुण पत्रको सम्पादन गर्ने जिम्मा दिनुभएको थियो । तरुण पत्रमा मेरो पनि एउटा रचना प्रकाशित भएको छ, सहिद शमशेर बहादुर हत्यारा राप्ती अञ्चलमा । प्रदीपजी प्रभावशाली नेता भए पनि उहाँ त्यसताका बनारसमा निकै विवादित रहनुभयो ।

त्यस समयका सबै साथीभाइहरूले बिर्सनै नसकिने नाम हो अर्जुन सिंह कठायत । उहाँ गल्लीमा बस्ने साथीहरूको केही समय चलेको संयुक्त मेसको कमान्डर पनि हुनुहुन्थ्यो । अर्जुनजी निकै भद्र एवं सरल हुनुहुन्थ्यो । यसरी नै बिर्सने नसकिने नाम हो, नुवाकोटका एक वृद्ध नेता धनानाथ उप्रेती । उहाँ नेत्रहीन हुनुहुन्थ्यो । शारीरिक रूपले असक्षम भए पनि तत्कालीन सरकार उहाँसँग डराउँथ्यो । त्यसैले उहाँलाई पनि निर्वासनमा बस्नुपर्ने बाध्यता आइलागेको थियो । मलाई त्यसबेला लागेको थियो कि जो सरकार एउटा नेत्रहीनसँग डराउँछ त्यस राज्यको व्यवस्थाको धरातल कस्तो होला ? तर विस्तारै धनानाथजीसँग उठबस हुँदै गर्दा थाहा भयो उहाँ कैयौ आँखा भएका व्यक्तिभन्दा तेज एवं प्रतिबद्ध प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो । केवल राई एवं कपिलवस्तुका शिव कंगाल पनि निर्वासनमा हुनुहुन्थ्यो । यसैगरी स्याङ्जाका तारापति सुवेदी, सूर्य रेग्मी, शिवकुमार शर्माहरू २०३२ सालतिर निर्वासनमा आइपुग्नु भएको थियो । किनभने को कुन दिन सहिद हुने हो थाहा थिएन ? त्यस समयमा आजको जस्तो सत्ताको ताप एवं प्रपञ्च थिएन ।

अब भाइले पढ्न थाल्यो भनेर घरबाट पैसा आउने थालेपछि मैले पनि पढाइमा अलि बढी ध्यान दिन थालेँ । त्यो समयमा दाङबाट निर्वासनमा रहेका हामी सबै गोविन्दजी नायक गल्लीमा एकै ठाउँमा बस्दथ्यौँ । सबैले पैसा उठाएर मेस चलाएका थियौं । खाना पकाउनको लागि त्यहीकी एकजना माई थिइन् । मेसको पैसाबाट दाल, चामल, नुनतेललगायतका सामान एवं खाना पकाउने माईको पैसा पहिले नै दिन्थ्यौं । तर तरकारी भने एक पटक किन्न सकिँदैन थियो । तरकारी किन्ने पैसा भनेर हामीमध्ये एकजनाको जिम्मामा दिइन्थ्यो । तर तरकारीको पैसा दुईचार दिनमा नै सकिन्थ्यो । हामीहरू बिहानै उठेर बीपी कोइरालाकहाँ जान्थ्यौं । उहाँले सारनाथमा हामीहरूलाई प्रजातान्त्रिक समाजवाद, फ्रान्सको साथसाथै उहाँले समसामयिक राजनीति एवं अखबारमा आउने दैनिक समाचारहरूको विश्लेषण पनि सुनाउनुहुन्थ्यो । त्यस समयको सदुपयोग गर्दै हामीहरू आफूलाई लागेको जिज्ञासाहरू पनि सुनाउने मौका पाउथ्यौं ।

(कांग्रेस नेता बलदेव शर्मा मजगैयाँको आत्मआख्यान धर्तीमाताबाट)

Published : Sunday, 2018 February 11, 7:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया