तिहार अगाडिका कांग्रेसका पूर्वनिर्धारित कार्यक्रम स्थगित, महासमितिलाई नयाँ व्यवस्था
काठमाडौं । नेपाली कांग्रेसले तिहारअघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगन गरेको छ ।
कांग्रेसको महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहनेछ ।
जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा गए राति आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरू घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले तिहार अगाडिका पूर्वनिर्धातिर कार्यक्रमहरू स्थगन गरेको शनिबार विज्ञप्तिमाफर्त जनाएको छ ।
‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेसले सबैमा अपील समेत गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भनेको छ, ‘सन्दर्भमा, पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ ।’
‘यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
पार्टीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको भएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने कांग्रेसले जनाएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया