पाल्पा कांग्रेसका सभापति कोइरालाको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्व सभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको ८५ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार कोइरालाको निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी रहेको कांग्रेसले जनाएको छ ।

विक्रम संवत् २०४८ देखि २०५२ सम्म कोइराला पाल्पा जिल्लाको सभापति रहेका थिए । उनी विक्रम संवत् २०१५ सालमा युवा कांग्रेस पाल्पाको अध्यक्ष समेत रहेका थिए ।

पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ निवासी स्वर्गीय कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका आन्दोलन र संघर्षका क्रममा पटक–पटक जेल जीवन बिताएका थिए ।

कोइरालाको निधनबाट नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धालाई गुमाएको जनाएको छ ।

कोइरालाको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भने, ‘नेपाली कांग्रेस पाल्पाका पूर्व सभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनको खबरले मलाई स्तब्ध र दुखित बनाएको छ ।’

‘नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ’, सभापति देउवाले भने ।

‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Thursday, 2024 August 29, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया