प्रचण्डको सरकार ढल्नेवित्तिकै शीतलनिवासको पत्र, आइतबारभित्र ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेर ढलेको केही घण्टाभित्रै राष्ट्रपति रामचन्द्र पौडेल संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा सूचनाअनुसार आइतबार अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका छन् ।

दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएपछि सरकार ढलेको छ । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलले मिलेर सरकार बनाउन सक्छन् ।

‘२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१/३/३० गते आइतबार अपराह्न ५ बजेभित्र पेस गर्न आह्वान भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरूको समर्थनमा सम्भवत आइतबारभित्र एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

राष्ट्रपति पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि दाहाल नेतृत्वको मन्त्रिपरिषदलाई नै कार्य सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रपति पौडेलले दिएका छन् ।

प्रतिनिधि सभामा शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री दाहालको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको थियो ।

दाहालको विपक्षमा १९४ मत परेको छ । प्रस्तावमा मत दिन्नँ भन्नेमा जम्मा १ मत परेको थियो । बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ ।

दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दाहालले शुक्रबार पाँचौं पटक विश्वास मत प्रस्ताव पेस गरेका थिए ।

दाहालले यसपालि विश्वासको मत जुटाउन सकेनन् । दाहाल सत्ताबाट बहिर्गमन भएका छन् । असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्नेलगायत सहमति बनेको थियो ।

Published : Friday, 2024 July 12, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया