प्रचण्डका भाइले दाइप्रति वफादारिता देखाए, जोखिममा अध्यक्ष पद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको केही घण्टा आयु बाँकी रहेका बेला राष्ट्रिय सभाको बैठक सूचना टाँस गरी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
बिहीबार बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा बस्ने गरी समय तोकेको संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची रहेको थियो ।
बजेटसँग सम्बन्धित विधेयकमा संशोधन गर्ने विषयमा दलहरूबीच विवाद भएपछि बैठक प्रभावित भएको हो ।
राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध जनाएका छन् ।
उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमतिको बाबजुद अचानक बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरूले अर्थमन्त्री वर्षमान पुनको गलत मनसायका कारण बजेट आश्रित विधेयकहरू पेस हुन नसकेको जनाएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल प्रधानमन्त्री दाहालका भाइ हुन् । आफ्नै दाइ नेतृत्वको सरकारको आयु केही घण्टा बाँकी रहेका बेला दाइ प्रचण्डलाई सहयोग हुने गरेर राष्ट्रिय सभा बैठक सूचनामार्फत स्थगित गरेर अध्यक्ष दाहालले ठूलो जोखिम मोलेका छन् ।
नेपाली कांग्रेस र एमालेसहितका दलहरूले छिटै बनाउने राष्ट्रिय सहमतिको सरकार हुनेवित्तिकै नारायण दाहालको राष्ट्रिय सभाको अध्यक्ष पद जोखिममा परेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया