गृहमन्त्रीको निर्देशनमा प्रहरीद्वारा पूर्वाग्रहपूर्ण ढङ्गले सिरोहियालाई पक्राउ : प्रेस युनियन
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्ति जारी गरेर भने, ‘सहकारी ठगीका विषयमा कान्तिपुर दैनिकमा निरन्तर खोजमूलक समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले पूर्वाग्रहपूर्ण ढंगले कान्तिपुरका प्रबन्धक निर्देशक सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई प्रेस युनियन घोर निन्दा गर्दछ ।’
‘प्रहरीले नागरिकताको विषय देखाएर पक्राउ गरिएको भनिए पनि मन्त्री लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले पक्राउ गरिएको ठहर युनियनले गरेको छ’, पौडेलले भने ।
‘सिरोहियाको नागरिकताको विषयमा कानून सम्मत अनुसन्धान गर्ने कुरा स्वभाविक छ र अनुसन्धानमा सिरोहियाले पनि सघाउनुपर्छ भन्ने मान्यता युनियनको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘अनुसन्धानको बहानामा सञ्चार माध्यमलाई त्रसित बनाउने गरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिएको घटना निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ ।
‘गृहमन्त्री लामिछानेले यसअघि बाह्र भाइको नाममा सम्पादकहरूविरुद्ध दिएको अव्यिक्ति, सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशन, सार्वभौम संसदको रोष्टमबाटै मिडियाविरुद्ध बोल्नु, र अहिले मिडिया सञ्चालकलाई पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गर्न निर्देशन दिनुले रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नियत प्रष्ट हुन्छ’, युनियनले भनेको छ ।
‘दोहोरो नागरिकता, राहदानी र सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने आफ्ना कुकृत्य ढाकछोप गर्न सत्ताको दुरुपयोग गर्दै अर्नगल प्रचारबाजी गर्दै आएका छन्’, युनियनले भनेको छ ।
‘उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई आफ्नो राजनीतिक यात्राको जग स्मरण गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धताबाट विचलित नहुन, मिडियाप्रति पूवाग्रहपूर्ण व्यवहार नगर्न आग्रह गर्दछ’, महासचिव पौडेलले भनेका छन् ।
‘मिडियाप्रति सरकारको धारणा सार्वजनिक गर्न पनि प्रेस युनियन आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियालाई पक्राउ गरिए पनि सम्पादकीय नीतिबाट विचलित नहुन, र नागरिकले सुसूचित हुन पाउने अधिकारलाई जीवन्त राख्न अविचलित भएर सञ्चार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रशारणमा अडिग रहन कान्तिपुर मिडियालाई प्रेस युनियन आग्रह गर्दछ’, युनियनले भनेको छ ।
‘युनियन सञ्चार गृहको साथमा रहेको प्रतिवद्धतासमेत व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न प्रेस युनियन सम्बन्धित सबै पक्षलाई सचेत गराउन चाहन्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया