महामन्त्रीद्वय गगन र विश्व महासमितिको तयारी किन गरिरहेका छैनन् ?

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकको तयारी गर्नुपर्ने बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिल्ला दौडाहामा निस्किएका छन् ।

सभापति शेरबहादुर देउवाले महासमितिको बैठकको तयारी गर्न उप–सभापति पूर्णबहादुर खड्कासहित दुई महामन्त्री थापा र शर्मालाई निर्देशन दिइसकेका छन् ।

महामन्त्री थापाले पार्टीको सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी पाएका छन् । महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले आफ्नो जिम्मेवारी पूरा गर्नेतिर भन्दा पनि महासमितिको बैठकलाई टार्ने गरेर आफूलाई जिल्लातिर केन्द्रित गराएपछि प्रश्न उठेको छ । सभापति देउवा आफैले तयारी गर्ने होइन । महासमितिको बैठकको तयारी महामन्त्रीद्वय थापा र शर्माले गर्नुपर्छ ।

सभापति देउवाको नेतृत्वमा महासमिति मूल आयोजक समिति गठन भएको छ । समितिको तर्फबाट सभापति देउवाले तयारी गर्न निर्देशन दिए पनि महामन्त्रीद्वय थापा र शर्माले आलटाल गरेर महासमितिको बैठकलाई सार्न खोजेको आरोप लाग्न थालेको छ ।

समयमा महासमिति बैठक बस्यो भने सभापति देउवालाई जस जाने भनेर महामन्त्रीद्वय थापा र शर्मा तर्सिएका छन् । थापा र शर्माले जति सक्यौ महासमिति बैठकको कुरा गरेर सार्न खोजेको चर्चा छ । बैठकलाई समयमा हुन नदिएर सभापति देउवाको आलोचना गर्ने थापा र शर्माले बाटो खोजेको आरोप छ ।

सभापति देउवा आफू सार्वजनिक कार्यक्रममा बोल्दैनन् । निजी सचिवालयले पनि सभापति देउवाको काम गर्ने शैलीका विषयमा केही बताउँदैन । स–साना विषयमा टिकाटिप्पणी नगर्ने सभापति देउवाको शैलीलाई महामन्त्रीद्वय थापा र शर्माले कमजोरीका रुपमा लिएर आफू अनुकूल टिकाटिप्पणी गर्ने गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले महासमितिको बैठकको तयारी गर्ने विषयमा उदाशीनता देखाएको आरोप लागेको छ । पार्टी कार्यालयमा दैनिक सरह उपस्थित भएर थापा र शर्माले बैठकको तयारी गर्नुपर्ने हुन्छ । थापा र शर्मा आफू निकटका नेताहरूलाई बोकेर जिल्लामा हिँडेका छन् । सबै जिल्लामा महामन्त्रीहरू पुग्नु पर्छ भन्ने छैन । आलोपालो गरेर जाने वा अन्य पदाधिकारी या सदस्यहरूलाई जिम्मेवारी तोकेर पठाउन सकिन्छ ।

केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महासमितिको बैठकको तयारी भइरहेको बताएका छन् । उनले बैठकमा पेश गर्न प्रस्तावहरू तयार भइरहेको बताएका छन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये १५० बाट महासमिति सदस्य निर्वाचित भइसकेका छन् । भूकम्प प्रभावितसहितका केही जिल्लामा महासमिति सदस्य चयन गर्न समस्या भएको छ । बाँकी क्षेत्रहरूको महासमिति सदस्य पनि छिटै चयन हुने मुख्य सचिव पौडेलले बताएका छन् । हरेक निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य हुने व्यवस्था छ ।

कांग्रेसको महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा हुनेछ । बैठकका लागि हल बुक भइसकेको छ ।

Published : Thursday, 2023 December 7, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया