नवराजसहितको सामूहिक हत्या काण्डका २४ जनालाई जन्मकैदको फैसला

नेपालगञ्ज । अन्तरजातीय विवाहमा तीन वर्षअघि भएको नवराज बिकसहितको हत्या घटनाका २४ जना दोषीलाई जन्मकैदको फैसला भएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटका नवराज बिकसहित ६ जना युवाहरूको ज्यान जानेगरी तीन वर्षअघि भएको घटनामा २४ जनालाई जन्मकैदको फैसला भएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको छ ।

सूचना अधिकारी कोइरालाका अनुसार तत्कालीन वडाध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् ।

जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ ।

नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।

तारेकमा रहेका अन्य आठजनालाई उक्त मुद्दामा सफाइ दिइएको छ । सफाइ पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, ईन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन् ।

पीडितका परिवारहरूलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ ।

आइतबार सुरु भएको पेशी सुनुवाई पछि तीन दिन लगाएर भएको बहस सकिएसँगै फैसला भएको हो । जाहेरीवालाको तर्फबाट सरकारी वकिलसहित १५ जना र प्रतिवादीको तर्फबाट ६ जना कानून व्यवसायीले बहस गर्नुभएको थियो ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छजना युवाले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

प्रतिवादी सबैले जनही ४० हजार रुपियाँ जरिवाना गरेर उक्त रकम पीडित परिवारलाई दिने फैसला भएको छ ।

घटनामा संलग्न भनिएका ८ जनालाई रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताएकी छिन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज बिकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो ।

प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले लखेटी लखेटी कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो ।

३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।

२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या धेरै हुँदा सुनुवाइमा लामो समय लागेको थियो ।

मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको छ ।

वादीका तर्फबाट सरकारी वकिलसहित १६ र ५ जना प्रतिवादीका तर्फबाट बहस गरेका थिए ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार सोती गाँउ नजिकै तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए ।

जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो ।

प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज बिकसहित उनका साथीहरू सञ्जु बिक, लोकेन्द्र सुनार, गोविन्द शाही, गणेश बुढा मगर र टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।

Published : Tuesday, 2023 December 5, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया