बालकृष्ण खाणबारे राय बाझियो, को–को छुटे ? को–को थुनामा पुगे ?

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण विषयमा दुईजना न्यायाधीशबीच राय बाझिएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच छाड्ने/नछाड्ने भन्ने विषयमा राय बाझिएको प्रवक्ता तीर्थराज भट्टराईले बताए ।

खाणलाई धरौटीमा छाड्ने वा नछाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएपछि अर्को सुनुवाई हुनेछ ।

न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका छन् ।

न्यायाधीश प्रकाश खरेलले खाणलाई थुनामा पठाउनुपर्ने राय दिएका छन् ।

उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपियाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपियाँ, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख रुपियाँ र रामशरण केसीसँग १५ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएको छ ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि अदालतले थुनामा पठाएको छ ।

लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालतले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको छ ।

Published : Friday, 2023 December 1, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया