प्रदीपलाई मन्त्री र छोरीले डुबाए, विवादमा आफैले बनाएका विमानस्थलहरू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कोरियन एयरलाइन्ससँग व्यक्तिगत दुश्मनीको बदला लिन लागेको आरोप लागेको छ ।

कोरियन एयरको जनरल सेल्स एजेन्ट युनिभर्सलले महानिर्देशक पद बचाउँदा असहयोग गरेको भन्दै अधिकारीले कोरियन एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाउन लागेको आरोप लागेको छ । अधिकारीले महानिर्देशक पद बचाउन सबै शक्ति खर्च भएको आफू निकटका साथीहरूसँग गुनासो गर्ने गरेको चर्चा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी (स्वकीय सचिव) गंगा दाहाललाई मिलाउन सबै शक्ति खर्च भएको बताउने गरेको प्राधिकरणभित्र चर्चा छ ।

त्यस बेला युनिभर्सलले फुटेको पैसा पनि सहयोग नगरेपछि अधिकारी कोेरियन एयरलाइन्सलाई नेपालमा उडानमा प्रतिबन्ध लगाएर बदला लिन लागेको चर्चा प्राधिकरणभित्र कर्मचारीहरूले गरेका छन् । मन्त्री किराँती र गंगाले ठूलो रकम खर्च गराइदिएको भनेर महानिर्देशक अधिकारीले पछिल्लो समय बद्नाम गर्दै हिँडेका छन् ।

महानिर्देशक अधिकारीले नेपाल एयरलाइन्सलाई कोरियामा उडान नदिएको भन्दै कोरियन एयरलाइन्सलाई पनि प्रतिवन्ध लगाउन लागेको कुतर्क गर्ने गरेका छन् । नेपाल एयरलाइन्सलाई कोरियामा उडानको अनुमति लिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल एयरलाइन्सले पहल गर्ने हो । महानिर्देशक अधिकारी मन्त्रालय र नेपाल एयरलाइन्सभन्दा दुई पाइला अगाडि सरेर दक्षिण कोरिया र नेपालबीचको कुटनैतिक सम्बन्ध बिगार्ने गरेर गतिविधि गरिरहेका छन् ।

कोरियन एयरलान्सको सेल्स एजेन्ट युनिभर्सललाई महानिर्देशक अधिकारीले अनुहार हेर्न पनि चाहँदैनन् । अधिकारी प्राधिकरणको महानिर्देशक हुन् । उनले ऐन, कानूनअनुसार काम गर्नुपर्छ । प्राधिकरण अधिकारीको घरको व्यक्तिगत सम्पत्ति होइन ।

चिनियाँ लगानी रहेको हिमालयन एयरलाइन्सको सानो कार्यक्रममा पनि गएर ज्वाइँ सरह सहभागिता जनाउने गरेका महानिर्देशक अधिकारीले भेदभावपूर्ण व्यवहार गरेको भन्दै प्राधिकरणका कर्मचारीहरूले रिपब्लिका दैनिकलाई मेल पठाएर चिन्ता जनाएका छन् ।

महानिर्देशक अधिकारीले नेपाल एयरलाइन्सलाई डुबाउने र कोरियासँगको सम्बन्ध बिगार्ने गतिविधि गरेको भनेर कर्मचारीहरू चिन्तित छन् ।

महानिर्देशक अधिकारीले नेपाल एयरलाइन्सका पाइलट, ईन्जिनियर, कर्मचारी लगायतलाई कारबाही गर्ने, ग्राउण्डेड गर्ने जस्ता कार्यहरू गरिरहेका छन् । त्यसले गर्दा नेपाल एयरलाइन्सलाई नोक्सानी भएको छ ।

मन्त्री किराँतीले स्पष्टीकरण सोधेका बेला महानिर्देशक अधिकारीले एयरलाइन्सहरूका सेल्स एजेन्टहरूसँग सहयोग मागेको आरोप छ । केहीले सहयोग गरे पनि कोरियन एयरलाइन्सले सहयोग गर्न अस्वीकार गरिदिएको थियो ।

कोरियन एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएर महानिर्देशक अधिकारीले नेपालीहरूलाई महँगो एयरलाइन्समा चढ्न बाध्य बनाउन लागेका छन् । तुलनात्मक रुपमा कोरियन एयरलाइन्सको टिकट सस्तो पर्छ ।

यता, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा अधिकारी प्रोजेक्ट म्यानेजर थिए । गोतम बुद्ध विमानस्थलको रनवे व्यक्तिको नाममा देखिएको विवाद आएको छ । यो विवादको जिम्मेवारी अधिकारीले लिनुपर्ने दवाव परेको छ ।

उता, सोमबार श्री एयर र बुद्ध एयरको जहाज पोखरामा अवतरण गर्न नसकेर काठमाडौं फर्किएका छन् । नयाँ एयरपोर्टमा रडारले काम गरेको छैन । अधिकारीले बनाएको अन्तर्राष्ट्रिय विमानस्थलको रडार कस्तो खालको राखेका रहेछन् प्रष्ट भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीनको भ्रमणमा बल्लबल्ल चिनियाँ विमानहरूलाई पोखरा गन्तव्य बनाउन मनाएका बेला रडारले धोका दिएको छ । रडारले गर्दा अन्तर्राष्ट्रिय उडानहरूमा त्रसा पैदा हुन सक्छ ।

आरोपहरूका बारेमा प्रतिक्रिया लिन प्राधिकरणको केन्द्रीय कार्यालयमा महानिर्देशक अधिकारीलाई टेलिफोनमा सम्पर्क गरिएकोमा सम्पर्क हुन सकेन ।

Published : Tuesday, 2023 October 3, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया