भीआईपीहरूलाई दिएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरू खोस्न सभापति खतिवडाको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले उनीहरूलाई फिर्ता गर्दै आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन निर्देशन दिएको समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।

सरकारका मन्त्री तथा पदाधिकारीले नियमानुसार पाउनेभन्दा बढी सवारी साधन प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिएको सभापति खतिवडाले बताएका छन् ।

सभापति खतिवडाले भने, ‘नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कुल कति छन् ? र मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

सरकारका मन्त्रीलगायत सम्पूर्ण पदाधिकारीले नियमभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको छ । त्यसरी नियमभन्दा बाहिरका सुविधा फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘नेपाल सरकार तथा प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्नका लागि सार्वजनिक बिदाका दिन अफिस खोल्ने निर्णय भएको सुनिन आएको थियो’, खतिवडाले भने, ‘सरकारले गरेका निर्णयमा आर्थिक सहयोगको निर्णयचाहिँ तुरुन्त कार्यान्वयन हुने र अरु निर्णय अलि पछिपछि कार्यान्वयन हुने हुँदा यसलाई पनि बिदाको दिन अफिस खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।’

यसबीच सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपियाँले नपुग्ने गरेको बताएका छन् ।

महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए ।

‘रासनसम्बन्धि समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने ! उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपियाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ । रासनको अवस्था यस्तो छ,’ उनले भने । सांसदहरूले एक छाकको २ सय ३ रुपियाँ कि दिनभरका लागि ? भनेर चासो राखेका थिए ।

कांग्रेस सांसद दिलेद्रप्रसाद बडू, सरिता प्रसाईं, एमालेका रघुजी पन्त, राप्रपाका बुद्धिमान तामाङ, जसपाका प्रकाश अधिकारीले सुरक्षाकर्मीका लागि दैनिक रासनको रकमबारे चासो देखाएका थिए । उक्त रकम अत्यन्तै न्यून रहेको उनीहरूको भनाइ थियो ।

त्यसपछि महानिरीक्षक अर्यालले थपे, ‘ठाउँठाउँमा रासनको यस्तो भयो, दुरुपयोग भयो भन्ने कुरा पनि आउँछ । हामी कहीँ गएर एउटा साधारण रेष्टुरेन्टमा खाँदा कति खर्च हुन्छ ? यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अवस्था आएको छ ।’
रासनका लागि आउने रकममा दुरुपयोग नभएको उनको भनाइ थियो ।

‘२०३ रुपियाँले दैनिक २ छाक खाना र २ पटक खाजा खानुपर्छ । हामीले समूहमा पकाएर खाँदाखेरि कहिले काँचो हुन्छ, कहिले दाल पुग्दैन, कहिले तरकारीका कुरा पनि आउँछन्’, उनले भने, ‘हामीले बोल्दै हिँड्ने कुरा पनि भएन, आज यति ठूलो फोरममा त्यहाँसम्मको कुरा पनि राख्न पाइयो ।’

महानिरीक्षक अर्यालले सीमा सुरक्षा पोस्ट बलियो नभएको, सीमामा पिच सडक नहुँदा पनि सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले सीमामा छाप्रो बनाएर भएपनि सुरक्षामा खटिइरहेको भन्दै बजेट थप्नुपर्ने आग्रह गरेका थिए ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थिति थियो ।

Published : Thursday, 2023 September 21, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया