यो हो केपी ओलीको जातीय रुप, कांग्रेसद्वारा विरोध
काठमाडौं । भ्रष्टाचार र सुशासन आवाज उठिरहेका बेला ‘ओली वंश अक्षय कोष, काठमाडौं’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा साधारण सभा राखेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जातीय कार्यक्रम गर्नका लागि आफ्नो सरकारी निवासमा स्वीकृति दिएका छन् । भदौ २४ गते साढे दश बजे ओली वंश अक्षय कोषको साधारण सभा हुनेछ ।
साधारसभा कार्यक्रममा पुरस्कार वितरणका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम हुने ओली वंश अक्षय कोषका अध्यक्ष केशवमणि ओलीले जानकारी दिए । अक्षय कोषद्वारा जारी गरिएको सूचनामा पनि प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्यक्रमका लागि सिट सुरक्षित गर्न आग्रह गरिएको छ । साधारण सभामा करीव पाँच सयजनाको उपस्थिति हुनेछ ।
प्रधानमन्त्रीलाई सरकारी प्रयोजनका लागि उपलब्ध गराइएको सरकारी निवासमा आफ्नो थरसँग जोडिएको जातीय कार्यक्रम गर्न अनुमति दिएको भन्दै प्रधानमन्त्री ओलीको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारी कामकाजका लागि सहज होस् भनेर दिइएको निवासमा आफ्नो थरसँग जोडिएको जातीय कार्यक्रम गर्न नपाइने बताए ।
जातीय कार्यक्रम सरकारी निवास बालुवाटारभित्र गर्ने अनुमति दिएर प्रधानमन्त्री ओलीले अख्तियारी दुरुपयोग गरेको डा.महतले आरोप लगाए । ‘आफ्नो थरसँग जोडिएको जातीय कार्यक्रम सार्वजनिक स्थान, पार्टी प्यालेस वा होटेलमा गर्नु राम्रो हुन्छ’, कांग्रेसका सहमहामन्त्री डा.महतले भने, ‘प्रधानमन्त्री ओलीजीले अख्तियारी दुरुपयोग गर्नुभएको छ । सरकारी सम्पत्तिको दुरुपयोग भयो । यसलाई भ्रष्टाचार भनिन्छ ।’
ओली वंश अक्षय कोष साधारण सभा आयोजक घनश्याम ओलीले प्रधानमन्त्री ओलीले बालुवाटारमा साधारण सभा कार्यक्रम गर्न आग्रह गरेअनुसार भदौ २३ गते शनिबार बिहान साढे दश बजेका लागि कार्यक्रम राखिएको जानकारी दिए । घनश्यामका अनुसार बालुवाटारभित्र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
कम्युनिस्ट सत्ताबाट धेरै अपेक्षा गरेका जनताले बालुवाटारभित्र जातीय कार्यक्रम गर्न लागेपछि सामाजिक सञ्जालमा धेरैले चिन्ता जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत