कांग्रेसको विधान मस्यौदा असोज दोस्रो साता तयार हुने, बने ३ उपसमिति
काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको विधान मस्यौदा समितिले एक महिनाभित्र विधानको एकीकृत मस्यौदा तयार गर्ने तयार गर्ने गरी कार्यतालिका बनाएको छ ।
समितिले असोजको दोस्रो साताभित्र विधानको मस्यौदा बनाउने लक्ष्य लिएको हो । सोही अनुसार समितिले आन्तरिक गृहकार्य तिब्रता बनाएको छ ।
समितिका प्रवक्ता एवम् समिति सदस्य रमेश लेखकले असोज १५ गतेभित्र विधानको नयाँ मस्यौदा तयार गरी केन्द्रीय समितिमा पेश गर्ने दाबी गरे ।
कांग्रेसको समितिले विधानका विषयगत क्षेत्र पहिचान गरेको छ । प्रतिवेदन तयार पार्न तीनवटा बेग्लाबेग्लै उपसमिति पनि कांग्रेसले गठन गरेको छ । समितिले भदौ २३ गतेभित्र उपसमितिलाई प्रतिवेदन बुझाउन समय दिइएको छ ।
कांग्रेस नेता फरमुल्लाह मन्सुरको संयोजकत्वमा पार्टी संगठनको संरचनागत आधार तयार पार्न संरचना सम्बन्धी उपसमिति बनाइएको छ । मन्सुरको संयोजकत्वमा रहेको उपसमितिले कांग्रेसको नयाँ संरचना के कस्तो रहने भन्ने विषयमा प्राप्त सुझावहरूका आधारमा मस्यौदा तयार पार्नेछ ।
कार्यविभाजन सम्बन्धी व्यवस्था गर्न केन्द्रीय सदस्य डा.मीनेन्द्रप्रसाद रिजालको संयोजकत्वमा अर्को उपसमिति बनेको छ । उपसमितिले पनि प्रतिवेदन तयार पार्नेछ । केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धी प्रतिवेदन बनाउने प्रवक्ता लेखकले जानकारी दिए ।
उपसमितिले भदौ २३ गतेभित्र तयार पारेको प्रतिवेदेनलाई विधान मस्यौदा समितिले प्रारम्भिक अध्ययन गरी देशभरिबाट विभिन्न तह र निकायबाट प्राप्त राय सुझावलाई समेत समेट्ने छ । त्यसपछि भदौै मसान्तभित्र प्रारम्भिक एकीकृत मस्यौदा तयार पार्ने लक्ष्य समितिको रहेको लेखकले बताएका छन् ।
प्रारम्भिक एकीकृत मस्यौदालाई असोजको पहिलो साताभित्र सातैवटा प्रदेश तहमा लगेर छलफल गरिनेछ । रायसुझाव संकलन गर्ने तथा त्यसपछि एक हप्ताभित्र मूल समितिले सबै सुझावलाई अन्तिम तथा एकीकृत मस्यौदा तयार पार्नेछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गत भदौ ७ गते महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका थिए ।
समितिमा पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न पछिल्लो समय ललितपुर कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्य र रोल्पा जिल्ला सभापति अमरसिंह पुनलाई स्थायी आमन्त्रित सदस्यको रुपमा थपिएको छ ।
समितिले तयार पारेको मस्यौदालाई कांग्रेस केन्द्रीय समितिले परिमार्जन र संशोधन गरी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकमा अनुमोदनका लागि पेश गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत