सर्लाहीका एसपी र इनिस्पेक्टरका कारण यसरी जल्यो अस्पताल
काठमाडौं । सर्लाहीमा प्रहरीको गम्भीर लापरवाहीका कारण निजी अस्पतालमा तोफोड र आगजनी भएको छ । आगजनीबाट अस्पतालमा लाखौँको क्षति भएको छ ।
प्रदर्शन गरिरहेको भिडले अस्पतालमा आक्रमण गर्ने पूर्व जानकारी हुँदा पनि प्रहरीले समयमा उच्च सर्तकता अपनाउन नसक्दा यति ठूलो नोक्सानी भएको हो ।
सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर ११ स्थित नमूना अस्पतालमा शनिबार बिहान तोडफोड भएको हो । तोडफोड र आगजनी भएको अस्पतालको दुईसय मिटर नजिकै इलाका प्रहरी कार्यालय हरिवन छ । प्रहरीले अस्पतालमा तोडफोड हुन पूर्वजानकारी पाउँदा पाउँदै उच्च सुरक्षा सर्तकता नअपनाउँदा यति ठूलो क्षति भएको हो ।
इलाका प्रहरी कार्यालयका ईञ्चार्ज एवम् निरीक्षक विनोद सुनुवारको लापरवाही र असक्षमताले अस्पतालमा आगजनी भएको अस्पताल प्रशासनको आरोप छ । प्रहरी निरीक्षक विनोद सुनुवारले सहमति भइसकेपछि अप्सरा थापाका आफन्तले अस्पतालमा आगजनी गरेको बताए ।
अस्पतालको सुरक्षाका लागि सशस्त्र प्रहरीका निरीक्षक सुनिलबाबु कँडेलको नेतृत्वमा एक टोली खटिएको थियो । यति धेरै प्रहरी खटिए पनि उचित सुरक्षा दिन नसक्दा अस्पतालमा आगजनी भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
सर्लाही प्रहरीका प्रमुख एसपी पोषराज पोखरेलले समेत अस्पतालको सुरक्षाका लागि उचित निर्देशन समयमा नदिएको आरोप लागेको छ ।
प्रदर्शनकारीहरू झन् उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
हरिवन ७ कि गर्भवती अप्सरा थापालाई आफन्तले शुक्रबार राति आठ बजे नमूना अस्पतालमा उपचारका लागि ल्याएका थिए । अप्सराको अवस्था गम्भीर रहेको थाहा पाएपछि चिकित्सकहरूले वीरगञ्ज पठाइदिएका थिए । उपचार गराउन वीरगञ्ज लगेपछि अप्सराको उतै निधन भएको नमूना अस्पतालले जनाएको छ ।
आफन्तहरूले अप्सराको शवलाई वीरगञ्जबाट पुनः ल्याइ नमूना अस्पतालमा राखेर शनिबार बिहान ४ बजेदेखि प्रदर्शन शुरु गरेको अध्यक्ष बलराम न्यौपानले जानकारी दिए ।
‘अस्पतालका कारण अप्सरा थापाको मृत्यु भएको भए हामी कानून बमोजिम सजाय भोग्न तयार छौँ’, अध्यक्ष न्यौपानले भनेका छन्, ‘अप्सराको मृत्यु नमूना अस्पतालका कारण भएको हो वा अरु कारणले भएको हो छानविन गरेपछि थाहा भइहाल्छ । छानविन गर्न प्रहरीको रोहबरमा समिति बनेको छ । सहमति उल्लंघन गरेर हाम्रो अस्पतालमा तोडफोड र आगजनी भयो । दुईसय मिटर नजिकै रहेको प्रहरीले पनि केही गरेन । प्रहरीले रोकेको भए क्षति हुनु पाउने थिएन । प्रहरीले ठूलो अन्याय गरेको छ ।’
अप्सराको मृत्यु भएका विषयमा पीडित पक्ष, अस्पताल व्यवस्थापन, इलाका प्रहरी कार्यालय हरिवनबीच शनिबार बिहान सात बजे सहमति भइ छानविन समिति बनाउने निर्णय भएको थियो ।
इलाका प्रहरी कार्यालयमा भएको सहमतिअनुसार छानविन गर्न बनेको समितिमा चिकित्सक, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र पीडितका तर्फबाट ३ जना रहने निर्णय भएको थियो । तर, त्यो सहमतिलाई अप्सराका आफन्तहरूले तत्काल उल्लंघन गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत