पूर्वराजा धनीहरूको सूचीमा सबैभन्दा पुछारमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई चुनौती दिँदै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’का व्यावसायिक साझेदार अजेयराज सुमार्गी नेपालका नयाँ अर्बपति बनेका छन् ।

१५ वर्ष अघिसम्म सामान्य सुमार्गी पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाम जोडिएपछि अर्बको कारोबारमा छिरेका हुन् । सुमार्गीले राष्ट्र बैंकमार्फत १० अर्ब नेपाली रुपैंयाँ नेपाल भित्र्याएका थिए । सुमार्गी नेपालको चौथो धनी व्यक्तिका रुपमा छन् ।

मुक्तिश्री कम्पनी प्रालिको सम्पत्ति विवरणका आधारमा फोर्ब्सले सुमार्गीलाई नेपालका १० धनीको सूचीमा चौथो नम्बरमा राखेको छ । रामेश्वर थापाले कान्तिपुर दैनिकबाट अलग्गिने निर्णय गरेपछि सिरोहियासँग थापालाई दिने ६४ करोड नहुँदा सुमार्गीले कान्तिपुरका नाममा रहेको तीनकुनेको जग्गा खरिद गरेका थिए ।

सोही जग्गा बेचेकै मूल्यमा फिर्ता माग्दा नदिएपछि सुमार्गीविरुद्ध कान्तिपुर मिडिया ग्रुपका सबै प्रकाशन र प्रशारण शक्ति प्रयोग भएका थिए । पछि सुमार्गी–सिरोहियाबीच विवाद सतहमा आएको थियो । सिरोहियाविरुद्ध सुमार्गीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मानहानीको उजुरी समेत दिएका थिए ।

आफ्नै घरमा सुमार्गीले थाहाखबर डटकम र माइतीघरमा रेडियो थाहा सञ्चार सञ्चालनमा ल्याएका छन् । कान्तिपुरले एक्लौटी रूपमा पेलेको भन्दै सुमार्गीले मिडिया क्षेत्रमा लगानी गर्न थालेका हुन् ।

सुमार्गीको कुल सम्पत्ति २ सय मिलियन डलर रहेको फोर्ब्सको दाबी छ । फोर्ब्सले नेपालका दश धनीको सूची सार्वजनिक गरेको छ । धनीको सूचीको १ नम्बरमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी परेका छन् । चौधरीको सम्पत्ति १.६ बिलियन डलर छ । उनी विश्वका डलर अर्बपतिको सूचीमा १३४२औं स्थानमा छन् ।

दोस्रो धनी एनआरएनए शेष घले हुन् । घलेको कुल सम्पत्ति ४ सय १० मिलियन डलर छ । उनी अष्ट्रेलियाका ९९औं धनीको रूपमा छन् ।

अर्का एनआरएनए उपेन्द्र महतो तेस्रो स्थानमा छन् । महतोको सम्पत्ति ३ सय ६० मिलियन डलर रहेको छ ।

सानिमा बैंकका मालिक एवम् एनआरएनएका जीवा लामिछाने फोर्ब्सको अर्बपति सूचीको छैटौं स्थानमा छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका निर्देशक हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपति शमशेर राणा सातौं धनीको सूचीमा छन् । राणाको सम्पत्ति ८४ मिलियन छ ।

हङकङमा व्यापार गर्ने नेपाली व्यवसायी चैन राई सूचीको आठौं नम्बरमा छन् । कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ ।

उद्योगी राजेन्द्र खेतान नवौं धनी व्यक्तिको सूचीमा छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको छ ।

फोर्ब्सले जारी गरेको नेपालका धनी व्यक्तिहरूको सूचीमा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम १०औं स्थानमा छ । पूर्वराजा शाहको सम्पत्ति ५८ मिलियनमात्र रहेको फोर्ब्सको सूचीमा उल्लेख छ ।

Published : Tuesday, 2018 August 28, 11:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया