शंकर पोखरेलले ज्वाइँलाई अध्यक्ष बनाएपछि दाङमा पूर्वएमालेभित्र बबण्डर

काठमाडौं । खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ५ मा सर्वसम्मतिको नाटक गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विरोध जनाएको छ ।

प्रदेश ५ का जिल्ला कमिटीहरू चयनका क्रममा पूर्वएमालेभित्रको गुटबन्दीले विवाद उत्पन्न भएको हो । प्रदेश ५ का १२ मध्ये ७ जिल्ला पूर्वएमाले र ५ जिल्लाको नेतृत्व पूर्वमाओवादीले पाउने सहमति ओली र प्रचण्डले गरेका थिए ।

पूर्वएमालेले दाङ र अर्घाखाँचीमा माधव नेपाल पक्षले असहमति जनाएको छ । बाँकेमा पनि पूर्वएमालेभित्रै विवाद भएको छ ।

प्रदेश ५ को कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई सर्वसम्मति भएको भन्दै प्रतिवेदन बुझाएको छ । प्रदेश अध्यक्षमा पूर्वएमालेका दलबहादुर राना र पूर्वमाओवादीका गणेशमान पुनमध्ये एकलाई बनाउन प्रस्ताव गरिएको छ ।

पूर्वएमालेले पाएका जिल्ला अध्यक्ष चयनमा मापदण्ड नबनाइएको र यसअघिको गुटका आधारमा व्यवहार गरिएको वरिष्ठ नेता नेपाल पक्षको आरोप छ । नेपाल समूहले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाग्रह राखेर स्थान नदिएको आरोप लगाएको छ ।

दाङका अध्यक्ष पूर्वएमालेले पाउने सहमति थियो । तर पूर्वएमालेका अध्यक्ष टीकाराम खड्कालाई अध्यक्ष नदिएर शिव आचार्यलाई बनाइएको छ । खड्का नेपाल समूहका हुन् भने आचार्य ओली समूहका मानिन्छन् ।

मुख्यमन्त्री पोखरेलले अन्याय गरेर खड्कालाई हटाएर आचार्यलाई अध्यक्ष बनाउन प्रस्ताव गरेको आरोप नेपाल समूहको छ । दाङको अध्यक्षमा प्रस्तावित आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाइँ पनि हुन् ।

प्यूठानमा ओली समूहका तुलसीराम शर्मा अध्यक्ष रहेकाले उनलाई नै निरन्तरता दिइएको छ ।

अर्घाखाँचीमा उपाध्यक्ष जीवराज कोइराला र सचिव रामबहादुर चौहानलाई पाखा लगाएर पिताम्बर भुसाललाई अध्यक्ष प्रस्तावित गरिएको छ । यो प्रस्तावमा पनि नेपाल समूहले बिरोध जनाएको छ ।

अर्घाखाँचीको अध्यक्ष पूर्वएमालेले पाए पनि हालका अध्यक्ष चेतनारायण आचार्यलाई दिइएको छैन ।

बाँकेको अध्यक्ष पूर्वम माओवादीले पाएपछि सचिव पूर्वएमालेले पाएको छ । सचिवको दाबेदार हालका उपाध्यक्ष निरक गुरुङ र रत्न खत्री थिए । उनीहरू नेपाल समूहका भएकै कारण कमिटी बाहिरबाट गोपाल गिरीलाई सचिव प्रस्तावित गरिएको भन्दै बिरोध भएको छ ।

ओली र प्रचण्ड मिलेर बनाइएको सहमतिप्रति नेपाल समूहले असन्तुष्टि जनाउँदै पार्टी हेडक्वार्टरमा असहमति दर्ज गरेको छ ।

Published : Friday, 2018 August 17, 6:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया