कांग्रेसको तर्कले आत्तिए पूर्वएमालेहरू, उत्रिए भौतिक आक्रमणमा

काठमाडौं । कम्युनिस्ट सरकारका श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा कडाइ गरेसँगै दुई समूहमा विभाजित भएका वैदेशिक रोजगार व्यवसायीहरूका बीच तिक्तता बढ्ने क्रम शुरु भएको छ ।

कांग्रेस र कम्युनिस्ट निकटका केही व्यवसायीहरूका बीच झण्डै–झण्डै बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका व्यवसायीहरूले श्रममन्त्री विष्टको कदमलाई झिनो स्वरमा सहयोग गरेका छन् ।

तर, नेपाली कांग्रेस निकटका व्यवसायीहरू भने श्रममन्त्री विष्टले सिण्डिकेट तोडेको कामको सह्राना गरे पनि व्यवसायीहरूको हितभन्दा बाहिर हुने गरेर धरौटीको मूल्य बढाउने लगायतका अनावश्यक दुःख दिने कुराकोमा विरोध गर्दै आएका छन् ।

व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा पनि विवाद बढ्दै गएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूविरुद्ध हुने टिकाटिप्पणीलाई रचनात्मक रुपमा लिनेभन्दा पनि आलोचना गर्ने व्यवसायीहरूलाई सिधै फोन गरेर धम्काउन थालेका छन् ।

अध्यक्ष गुरुङको क्रियाकलापबाट नेपाल कम्युनिस्ट पार्टी निकटका वैदेशिक रोजगार व्यवसायीहरू समेत रिसाएका छन् । नेकपा निकटका व्यवसायीहरूले अध्यक्ष गुरुङलाई नियमसंगत रुपमा काम गर्न दवाव दिए पनि सुध्रिने अवस्था नरहेको भन्दै भित्रभित्रै गुटबन्दी शुरु भएको छ ।

पूर्वएमाले निकटका एकजना व्यवसायीले संघका अध्यक्ष रोहन गुरुङका कारण आफूहरूको व्यवसाय नै संकटमा पर्न थालेको बताए ।

‘श्रममन्त्री गोकर्ण विष्टको केही कामहरू राम्रा र सकारात्मक छन्’, नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले भने, ‘व्यवसायीलाई असर पर्ने गरेर संघका अध्यक्ष रोहन गुरुङबाट भए गरेका चर्तिकलाले समस्या बनाएको छ ।’ उनले अध्यक्ष गुरुङलाई व्यवसायीको हितमा लाग्न सुझाव दिएका छन् ।

यति मात्रै होइन संघका अध्यक्ष गुरुङले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका निवर्तमान अध्यक्ष प्रज्ञान न्यौपानेलाई फोन गरेर आलोचना नगर्न धम्की दिएका छन् ।

न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर व्यवसायीहरूको हितमा काम गर्न र ऐन कानूनहरू पालना गर्न अध्यक्ष गुरुङलाई सोमबार सुझाव दिएका थिए । तर, अध्यक्ष गुरुङले तत्काल फोन गरेर न्यौपानेलाई तल्लोस्तरको गालीगलौज गर्दै जे मन लाग्छ त्यो गर्न धम्की दिएका थिए ।

फोरमका अध्यक्ष विष्णुप्रसाद गैरेले मंगलबार विज्ञप्ति जारी गरेर संघका अध्यक्ष रोहन गुरुङले तानाशाही शैली अपनाएको आरोप लगाउँदै सुध्रिन चेतावनी दिएका छन् ।

‘प्रतिपक्षीहरूको सुझावलाई रचनात्मक रुपले लिनुको साटो फोन गरेर तल्लोस्तरको गाली गलौज गर्नु आपत्तिजनक छ’, फोरमका अध्यक्ष गैरेले भनेका छन्, ‘तपाईभित्र व्यक्तिगत उदण्डता, अहं र तानाशाही प्रवृत्ति हाबी भएको छ । अभद्र प्रस्तुतिको तपाईले क्षमा माग्नुपर्छ । अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको तपाई स्वयं जिम्मेवार हुनुपर्नेछ ।’

Published : Tuesday, 2018 July 17, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया