अनि, म मेरो प्यारो कांग्रेस मै बसेंः ललन तिवारी
काठमाडौं । नेपाली कांग्रेसका नेता ललन तिवारीलाई कोरोना महामारीका बेला कम्युनिस्टहरूले जनताको जीवन रक्षामा भन्दा पनि सत्ताको खेलमा लागेकोप्रति चिन्ता छ । सधैँ लोप्रफोइलमा बस्न रुचाउने तर, कांग्रेसलाई बलियो बनाउने कुरामा अग्रपंक्तिमा देखिने तिवारीलाई कम्युनिस्टको हर्कत देखेर दिक्क लागेको छ । भन्छन्, ‘जनताले कांग्रेसलाई जिताएको भए अहिलेको अवस्था देख्नुपर्ने थिएन । कांग्रेसले जहिले पनि अग्रपंक्तिमा जनता र राष्ट्रलाई राख्छ । कम्युनिस्टले जस्तो स्वार्थका कुरा गर्दैन ।’
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा कांग्रेसको पराजय देश र जनताका लागि सबैभन्दा ठूलो दुर्भाग्य भएको उनको बुझाइ छ । अब देश र जनताको उन्नतिका लागि कांग्रेसले जबरजस्त रुपमा वापसी गर्नुपर्ने तिवारीको भनाइ छ ।
महोत्तरी जिल्लामा जन्मिएका तिवारीले नेविसंघको साधारण सदस्यता लिएर राजनीति शुरु गरेका हुन् । ‘शुरुवाती दिनमा मैले नेविसंघको राजनीति गरेको हुँ’, उनले भने, ‘त्रिभुवन विश्व विद्यालयमा ०५०–५२ सालमा नेविसंघको सक्रिय राजनीतिमा लागेको हुँ ।’ त्यो बेला त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेविसंघका नेता देवराज चालिसेले शानदार रुपमा जितेका थिए । तिवारीभन्दा चालिसे सिनियर नेता थिए । कास्की जिल्ला घर भएका चालिसेलाई जिताउन तिवारीको पनि सहयोग थियो ।
त्रिविको निर्वाचनमा नेविसंघबाट टिकट पाएका वीरबहादुर बलायर पराजित भएको घटना नेता तिवारीलाई नमिठो स्मरण छ । बलायरलाई आफ्नै साथीहरूले अन्तर्घात गरेर हराएको तिवारीले बताएका छन् ।
आफूसँगै राजनीति गरेका साथीहरू सांसद, मन्त्री, कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन् । तिवारी आत्तिएका छैनन् । जनताको सेवा गरेर राजनीति गर्नेभन्दै तिवारीले समय आयो भने सबै कुरा हुने बताउँछन् ।
नेपाली कांग्रेस विभाजन भएका बेला नेता तिवारी प्रजातान्त्रिक कांग्रेसतिर थिए । उप–सभापति विजयकुमार गच्छदारसँग नजिक रहेर काम गरेका तिवारीलाई स्व.नेता खुमबहादुर खड्का मन पर्ने नेतामा पर्छन् । खुमबहादुर खड्का रहेको भए कांग्रेस कमजोर अवस्थामा नपुग्ने उनको बुझाइ छ । कम्युनिस्टलाई खुमबहादुरले नै ठीक ठाउँमा ल्याउन सक्ने क्षमता राख्ने नेताका रुपमा आफूले चिनेको तिवारी बताउँछन् ।
खड्काको निधन भएपछि लुम्बिनी प्रदेशमा कांग्रेस कमजोर भएको तिवारी बताउँछन् । तत्कालीन समयमा गच्छदार कांग्रेस छाडेर फोरममा प्रवेश गरेका थिए । गच्छदारले कांग्रेस छाडे पनि तिवारीले कांग्रेस छाडेनन् । ‘म विजयकुमार गच्छदारसँग निकट थिएँ । उहाँले कांग्रेस छाडेर फोरममा जानुभयो’, तिवारीले भने, ‘मैले कांग्रेस छाडिन । साधारण कार्यकर्ता र महासमिति सदस्य भएर कांग्रेसको सेवा गरिरहेँ ।’
तिवारीले कांग्रेसको राजनीतिका साथै ललितपुर जिल्लाको चाकुपाटमा ‘ललितपुर इञ्जिनियरिङ कलेज’ स्थापना गरेर सञ्चालन गर्दै आएका छन् । त्रिविबाट अनुमति पाएको कलेज ११ वर्षदेखि सञ्चालनमा छन् । कलेजको प्रिन्सिपल र सञ्चालक भएर तिवारीले शिक्षा क्षेत्रमा योगदान गरेका छन् ।
महोत्तरी जिल्लामा तिवारीको जन्म २०२३ सालमा भएको थियो । उनले पिपरा भन्ने ठाउँमा २०४० सालमा एसएलसी उत्तीर्ण गरेका थिए । पिपरा शहीद रामनारायण मिश्राको गाउँ पनि हो । तिवारीले एमएस्सी र बीएस्सी भारतबाट गरेका हुन् । एमएस्सी त्रिविबाट गरेका छन् ।
‘पिपरा गाउँबाटै नेविसंघमा आबद्ध भएर काम गरेँ । ०३६ सालको क्रान्तिमा पनि संलग्न भएँ । भद्रकाली मिश्रा आएर त्यस बेला निर्देशन दिनुभएको थियो’, उनले भने, ‘पिपरा गाउँ कांग्रेसको गढ थियो । युवराज खाती, विश्वम्भर राय, महेन्द्र मधुकरले नेविसंघको राजनीति गर्नु हुन्थ्यो । ०३७ सालमा नेविसंघको साधारण सदस्यता लिएँको हुँ ।’ तिवारीले नेपाली कांग्रेसको सक्रिय सदस्यता ०५३ सालमा लिएका हुन् ।
‘०४६ सालको जनआन्दोलनमा मलाई आफ्नो क्षेत्रमा आन्दोलन परिचालन कमिटीको सह–इञ्चार्जको जिम्मेवारी दिइएको थियो । तत्कालीन सिसवा कटैया गाउँपञ्चायतको इञ्चार्ज पनि बनाइएको थियो’, उनले भनेका छन् । सिववा कटैया उनको आफ्नै गाउँ पनि हो ।
तिवारी २०५० सालमा त्रिविमा अध्ययन गर्न आएका थिए । त्यस बेला केमेस्ट्रीको एसोसिएसन थियो । उनले एसोसिएसनको सचिवमा चुनाव जितेका थिएँ । तिवारी त्रिविमा नेविसंघको ईकाइमा सदस्य पनि थिए । नेविसंघमा टिकटको लागि उनले कहिल्यै दाबी गरेनन् । देवराज चालिसेको पालामा तिवारीले टिकटको अपेक्षा गरेका थिए । टिकट दिइएन । टिकटमा षड्यन्त्र भयो । तराईबाट जसले टिकट पाएका थिए ती सबैले हारेका थिए । उचित समयमा उचित निर्णय हुन नसक्दा कांग्रेसले धोका पाउने गरेको उनको अनुभव छ ।
आफूलाई नजिकबाट चिन्ने नेताहरूमा विजयकुमार गच्छदार, स्व.खुमबहादुर खड्का, बालकृष्ण खाँणलगायतका रहेको उनले बताए । उमाकान्त चौधरी, शंकर भण्डारी, वीरबहादुर बलायर आफ्नो साथीहरू रहेको नेता तिवारीले बताएका छन् । महोत्तरी जिल्लामा स्व.महेश्वरप्रसाद सिंह, हरिशंकर मिश्र, रामचन्द्र तिवारी लगायतका नेताहरूसँग आफूले संगत र सहकार्य गर्न पाएको बताए ।
‘संस्थामा काम गर्नेहरूलाई नेतृत्वले चिन्नुपर्छ । पार्टीलाई केही दिन आफै केही सक्षम हुनुपर्छ । जीविकोपार्जन हुनुपर्छ’, उनले भनेका छन्, ‘समय परिस्थित पनि अर्कै भयो ।’
नेता तिवारीलाई ०५६ सालमा चुनाव लड्ने तयारी गर्न विजयकुमार गच्छदार र खुमबहादुर खड्काले महोत्तरीमा संगठनको काम गर्न पठाएका थिए । जिल्लामा बसेर तिवारीले ३–४ वर्ष काम पनि गरेँ । २०५८ सालमा ज्ञानेन्द्र शाहबाट ‘कु’ भयो । त्यसको असर तिवारीलाई पनि भयो । २०६२–६३ को आन्दोलन भयो । आन्दोलनमा सहभागी हुन तिवारी काठमाडौंमा आएका थिए ।
तिवारीले खानेपानी संस्थान र राष्ट्रिय प्रकृतिक संरक्षण कोष राजनीतिक नियुक्ति पाएका थिए । उनलाई विजयकुमार गच्छदारले नियुक्तिमा सहयोग गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया