कांग्रेस ५० वर्ष सत्ता बाहिर हुन्छ भन्थे, कम्युनिस्टले तीन वर्ष सरकार चलाउन सकेनन्ः डा.प्रकाशशरण महत
भरतपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले ढिलो चाँडो निर्वाचनमा जाने अवस्था आउन लागेको बताएका छन् ।
कोभिड–१९ अनुगमन समिति चितवनले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसले आफूलाई निर्वाचनको तयारीमा राख्नुपर्ने बताए । उनले संसद विघटन हुँदा सबैभन्दा धेरै कांग्रेसलाई फाइदा हुने भएपनि कांग्रेसले असंवैधानिक कदम भनेर संसद विघटनको विरोध गरेको बताएका छन् ।
‘संसद विघटनको विरोध गरेका छौँ । संविधान हामीले बनाएको हो । यो कदम संवैधानिक छैन’, उनले भने, ‘५० वर्ष कांग्रेसलाई सत्तामा जान नसक्ने भनेर कम्युनिस्टले भनेका थिए । संसद विघटन हामीले अवसरको रुपमा लिनुपर्ने हो । संसद विघटन संविधानको मर्मअनुसार नभएकाले बिरोध गरेका छौँ ।’
डा.महतले भने, ‘संसद विघटनको विवादको निरुपण गर्ने अधिकार सर्वोच्च अदालतलाई छ । सर्वोच्चमा यो विषय गएको छ । अदालतको निर्णय हामीले स्वीकार गर्छौं । फैसलामा चित्त बुझेन भन्न सकिन्छ । कांग्रेस चुनावबाट भाग्दैन ।’
‘ढिलो वा चाँडो हामी निर्वाचनमा जानुपर्छ । जनतामा जानुपर्छ । संसद पुनःस्थापना भयो भने पनि केही पछाडि जनतामा जानुपर्छ’, सह–महामन्त्री डा.महतले भने, ‘जनतालाई हिजो झुक्काए । सपना बाँडे । तीन वर्षमा देखियो ।’
वैशाखमा चुनाव भयो भने पनि खबरदार स्वतन्त्र निर्वाचन गर्नुपर्छ भनर दवाव सिर्जना गर्नुपर्ने उनले बताएका छन् । कामचलाउ सरकारलाई दायाँबायाँ गर्न नदिएर कांग्रेसले निर्वाचनका लागि काम चलाउ सरकारलाई दवाव दिनुपर्ने उनले बताए ।
‘जनता केन्द्रित भएर विरोध कार्यक्रम गर्ने हो’, उनले भने, ‘कम्युनिस्टका खराब कुरालाई एकएक गरेर जनतासामु प्रस्तुत गर्नुपर्छ । हामीलाई ठूलो अवसर छ । भोट माग्न आउँदैछन् ।’
कांग्रेसका सह–महामन्त्री डा.महतले तीन वर्षमा राज्यको साधन स्रोत कसरी धेरै दोहोन गर्ने भनेर कम्युनिस्टहरू केन्द्रित भएको बताए ।
‘सम्पूर्ण तीन वर्षको समय आफ्ना मान्छेलाई दोहोन गराउनुभयो’, उनले भने, ‘कम्युनिस्ट सरकार भ्रष्टाचारमा केन्द्रित भए ।’
‘दाहाल–नेपालले पद नपाउने भएपछि बल्ल भ्रष्टाचारको कुरा उठाउनुभयो । पार्टीभित्रको भ्रष्टाचार पहिला नै उहाँहरूलाई थाहा थियो’, उनले भनेका छन् ।
‘प्रचण्ड–माधवजीहरूले ओलीले सत्ता हस्तान्तरण गर्ने आशामा भ्रष्टाचारको कुरा उठाएनन् । ओलीले छाड्ने कुरा थिएन’, उनले भने, ‘सत्ता मागेपछि ओलीले संसद विघटन गर्नुभयो । सत्ता संघर्षको चरम परिणामले संसद विघटन भयो ।’
उनले भने, ‘एउटाले कुनै पनि हालतमा नछाड्ने, अर्कोले नलिइ नछाड्ने भनेर संसद विघटन भयो ।’
‘अहिलेसम्म कम्युनिस्टको कुरा बिकेको छ’, उनले भने, ‘कांग्रेसको विचार, सिद्धान्त ठीक छ । कांग्रेसको काम बिक्छ । कम्युनिस्टको गफ बिक्छ ।’
कांग्रेसका सह–महामन्त्री डा.महतले पार्टीभित्र नेताहरू संगठित हुन जरुरी रहेको बताएका छन् । ‘हामीबीच काल्पनिक सत्रु र विपक्षी खडा गर्ने काम बन्द गर्नुपर्छ’, उनले भने, ‘हाम्रो प्रतिस्पर्धा कम्युनिस्टसँग छ । कम्युनिस्टको बदमासीको पर्दाफास गर्नुपर्छ ।’
‘हामी आफैबीच बिरोधी खडा गर्छौं । छैन भने पनि बनाउछौँ । आफैमा लड्छौँ’, डा.महतले भने, ‘हामी मिलेको खण्डमा एक्लै बहुमत ल्याउन सक्छौँ ।’
‘महामारीको बेला कम्युनिस्टहरूले भ्रष्टाचार गरेर देखाउनु भयो । ओली–प्रचण्ड राम्रो नराम्रो भन्ने केही छैन । उनीहरू दुबै यस्तै हुन्’, उनले भने, ‘चुनावको बेला जनता झुक्याउने हो । निर्वाचनमा निर्वाचित भएर आउनुपर्छ भन्ने कुरामा कम्युनिस्टलाई विश्वास छैन ।’
‘निर्वाचनका लागि कांग्रेसले कम्युनिस्टलाई दवाव सिर्जना गरेर ल्याएको हो’, सह–महामन्त्री डा.महतले भने, ‘प्रजातन्त्र मान्ने कुरा ओली–प्रचण्डको सिद्धान्त होइन । हामीले प्रजातन्त्र मान्न बाध्य बनाएका हौँ ।’
‘सत्तामा नभए पनि जनतासँग छौँ’, उनले भनेका छन्, ‘कोरोनाको खोप प्राथमिकताका आधारमा सबैलाई वितरण गर्नुपर्छ ।’
महामारीका बेला जनताको जीवन बचाउन प्लाजमा दान गरेर कांग्रेसले शुरुदेखि अभियान चलाएको उनले बताएका छन् । ‘सरकारले गर्नुपर्ने काम कांग्रेसले गरेको छ’, उनले भनेका छन् ।
कांग्रेसको महाधिवेशन नेतृत्वले नरोकेको उनले बताएका छन् । ‘कांग्रेसको अधिवेशन लम्ब्याउने भनेर नेतृत्व लागेको आरोप छ’, उनले भने, ‘दुई–चार महिना लम्बाइएर कसैलाई फाइदा हुँदैन ।’
‘सभापति शेरबहादुर देउवाले सबैको चित्त बुझाएर पार्टी हिँडाउँछु भनेका लागि निर्णय गर्न ढिलाइ भएको छ’, सह–महामन्त्री डा.महतले बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठसहितका नेताहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया