पौडेलले पाए जनताको अपार साथ, अवरोध गर्न खोज्दा परास्त भए अधिनायकवादी कम्युनिस्टहरू

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशको पहाड–तराई जोड्ने रणनीतिक महत्वको सेती पुलको तनहुँमा उद्घाटन गरेका छन् ।

व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्मित पक्की पुलको मंगलबार कांग्रेसका नेता पौडेलले उद्घाटन गरेका हुन् ।

व्यास– १३ सोंडे र ऋषिङ–१ तल्लो कोइदिम जोड्ने सेतीमाथि निर्मित पुलको उद्घाटन गर्दै पौडेलले पुलले पछि परेको क्षेत्रलाई विकासमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आफैंले शिलान्याश गरेको पुललाई उद्घाटन गर्न पाएको भन्दै पौडेलले खुशी व्यक्त गरे । उनले कम्युनिष्टलाई पञ्चायती शैलीको संज्ञा दिंदै भ्रष्टाचारबाट नेताहरूले कम्युनिष्ट खाएको आरोप लगाए ।

पौडेललाई पुल उद्घाटन गर्न नदिन कम्युनिस्टहरूले ठूलो षड्यन्त्र गरेका थिए । तर, पौडेलले कसैको दवाव र अबरोधलाई बेवास्ता गर्दै पुलको उद्घाटन गरेका छन् । कांग्रेसका वरिष्ठ नेता पौडेललाई पुल उद्घाटन गर्ने क्रममा स्थानीय जनताले साथ दिएका थिए ।

कार्यक्रममा पौडेलले आफूलाई पुल उद्घाटन नगर्न तनहुँका प्रमुख जिल्ला अधिकारीले समेत रोक्न खोजेको भन्दै आक्रोश पोखेका छन् । पौडेलले कर्मचारी प्रशासनलाई सत्ताको धेरै चाकडीमा नलाग्न चेतावनी दिएका छन् ।

कम्युनिस्टहरू भ्रष्ट भएको भन्दै नेता पौडेलले राणा शासनमा नभएको कार्यलाई कम्युनिस्टहरूले अहिले गरिरहेको बताएका छन् ।

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा प्रदेश सभा सदस्यद्वय डोवाटे बिक र सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले र उप–प्रमुख पवित्रा पौडेल, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापालगायत उपस्थित थिए ।

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले प्रदेशभित्रैबाट पहाड र तराई मधेशसम्म जोड्ने रणनीतिक महत्वको पुलका रुपमा पुललाई व्याख्या गरेका थिए ।

सो पुलबाट ऋषिङबाट देवघाट हुँदै नवलपरासीको गैंडाकोटसम्म पुग्न सकिन्छ ।

गैर सरकारी संस्था समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिं गुरुङले प्रदेशभित्रैबाट सीमासम्म जोड्नका लागि पुलको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

एक सय ५ मिटर लम्बाईको पुल १० करोड ७१ लाख २ सय ७८ रुपियाँको लागतमा निर्माण सम्पन्न पुलको एड्भेन्चर कन्स्ट्रक्सन भरतपुरले निर्माण सम्पन्न गरेको छ ।

विगतमा एक पटक बाढीमा भत्केको पुल दोश्रो पटक निर्माण गरिएको छ ।

लकडाउनका बीचमा पनि काम गरेर निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक मोतीलाल शर्माले जानकारी दिए ।

Published : Tuesday, 2020 December 1, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया