म कांग्रेस छाड्ने पक्षमा छुः प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पार्टीमा सक्रिय सदस्यता छान्ने प्रक्रियाको विरोध गरेका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेता गिरीले महाधिवेशनको मुखमा सक्रिय सदस्यता दिइने प्रक्रियाको विरोध गरेका हुन् । उनले सक्रिय सदस्यता महाधिवेशनको मुखमा नभइ पहिलानै दिनुपर्ने बताएका छन् ।

‘महाधिवेशनको मुखमा आफूले बनाएको मतदाताबाट आफै छानिने कस्ते परम्परा हो ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘पहिला आफ्ना मतदाता छान्ने, आफूले छानेका मतदाताबाट आफू छानिने । लोकतान्त्रिक प्रक्रियामा पहिला मतदाता छानिन्छ । मतदाताबाट आफू छानिन्छन् ।’

गिरीले नेता कहिल्यै पनि नसुध्रिने बताएका छन् । ‘नेता सुध्रिदैनन् । म पनि सुध्रिदैन । कार्यकर्तामा सुधार गर्नुपर्छ’, गिरीले भने, ‘कस्तो नेतालाई छान्ने ? कस्तो नेतालाई मतदान गर्ने भन्ने कुरा कार्यकर्ताले ध्यान दिनुपर्छ ।’

‘जनताले भोट दिँदा जसले धेरै पैसा दिन्छ त्यसलाई जिताउने । भीमबहादुर तामाङ, शैलजा आचार्य, कृष्णप्रसाद भट्टराईर्लाइ जनताले हराउँछन् । अनि नेतालाई मात्रै गाली गर्छन् ।’

कार्यकर्ता र जनताले कस्तो नेतालाई जिताएका छन् त्यो कुराले अर्थ राख्ने कांग्रेस नेता गिरीले बताएका छन् । नेता सुध्रिनुभन्दा पनि कार्यकर्ता सुध्रिन आवश्यक रहेको गिरीले बताएका छन् ।
कांग्रेसका नेताहरूमा सुधार भएन भने पार्टीनै छाड्ने पक्षमा आफू रहेको गिरीले बताएका छन् ।

‘म कांग्रेस छोडने पक्षमा छु । पार्टी छोड्ने पक्षमा पुगेको छ’, गिरीले भने, ‘नेताहरू सधैँ झगडा गरेका छन् । म पदेन सदस्य भएकोले महाधिवेशनमा गएर कसलाई मतदान गर्ने ? यिनै नेतालाई मतदान गर्नुपर्छ । यिनीहरूलाई मतदान गर्नुभन्दा त पार्टी नै छोड्न राम्रो ।’

कांग्रेस नेता गिरीले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठलाई असल अभभिावक बनेर बस्न सुझाव दिएका छन् । नेतृत्वमा जानुभन्दा नेतृत्व दिएर बस्दा उपयुक्त हुने उनले बताए ।

नेता गिरीले नेकपाभित्रको विवाद समाधान भएन भने मुलुकमा विदेशीहरूको चलखेल बढेर जाने बताएका छन् । उनले ओली–दाहालबीच धेरै ठूलो विवाद नरहेको पनि बताएका छन् ।

गिरीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुनै पर्ने बताए । गिरीले ओली र दाहाललाई मिल्नका लागि नेकपाका नेता कार्यकर्ताहरूले दवाव दिनुपर्ने सुझाव दिएका छन् ।

निर्वाचनका बेला राजनीतिक स्थायित्वको माग गरेर झण्डै दुईतिहाइको बहुमत पाएको स्मरण गरेका कांग्रेस नेता गिरीले भने, ‘नेकपा फुट्नु हुँदैन । ओली र दाहाल मिल्नुपर्छ । उहाँहरू मिल्नुभएन भने मुलुकमा विदेशी हस्तक्षेप बढ्छ । विदेशीच चलखेल हुन्छ ।’

ओली र दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेको बताएका गिरीले पदका लागि झगडा नगर्न सुझाव दिएका छन् ।

सचिवालयको बैठकमा पेश भएको दुबै अध्यक्षको प्रतिवेदनमा आ–आफ्नो अडान यथावत रह्यो भने स्थिति असामान्य हुन सक्ने आफूले संकेत पाएको नेता गिरीले उल्लेख गरेका छन् ।

नेता गिरीले विगतमा कांग्रेसभित्र विवाद हुँदा गणेशमान सिंह, कृष्णप्रसाद सिटौला, गिरिजाप्रसाद कोइरालालाई पार्टीमा मिल्न नेविसंघले दवाव दिएका बताएका छन् । उनले नेकपाका कार्यकर्ताहरूलाई पनि दवाव सिर्जना गर्न सुझाव दिए ।

Published : Monday, 2020 November 30, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया