कांग्रेस नेता गिरीलाई दाङमा भव्य स्वागत, इमान्दार कार्यकर्तालाई क्रियाशील सदस्यता दिऔँ

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आफ्नै श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइलाको कैद सजाय घटाउने फैसला नाटकीय ढंगले आएको टिप्पणी गरेका छन् ।

शनिबार गृहजिल्ला दाङ आएका गिरीले स्थानीय पत्रकारहरूसँग आफ्नै निवासमा कुरा गर्दै पदमा बसेको एउटा मान्छेले नारीमाथि गरेको जघन्य अपराधमा कानूनी नियर्ण नौटंकी ढंगले आएको बताए ।

कांग्रेस नेता गिरीले सर्वौच्चले पछिल्लो समय गरेको निर्णय भर्त्सना योग्य भएको बताए । ‘जघन्य अपराधमा कानून मुताविक जस्तो सजाय हुनुपर्ने हो त्यो नभएर नौंटङ्की ढंगले आएको छ’, गिरीले भने, ‘त्यो भर्त्सना गर्न योग्य छ ।’

रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा पुनरावलोकन गर्न महान्यायाधीवक्ताको कार्यालयले निवेदन दिइसकेको हुँदा यसमा पुनः न्यायालयको शाख जोगाउने भूमिका रहेको गिरीले बताए । खस्किदै गरेको न्यायालयको आस्था र विश्वासलाई कायम बनाइराख्ने अवसर अझै रहेको आफूले विश्वास लिएको उनले बताए ।

सर्वौच्च अदालतले आफैंले प्रतिपादन गरेका कानूनी सिद्धान्तविपरित असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्‍याइदिएको थियो ।

यही फैसलाका आधारमा पत्नी हत्या गर्ने रञ्जन कोइराला बिहीबार छुटिसकेका छन् ।

कांग्रेस नेता गिरीले नेकपाका दुईतिहाई बहुमतको सरकार पूर्णतया असफल भइसकेको बताए ।

कम्युनिष्टहरू जनतााई झुक्काएर, राष्ट्रियताको खोक्रो नारा दिएर ठूलो पार्टी बनेको गिरीले बताए । कम्युनिस्टहरूलाई मतदान गर्ने जनता नै निराह भएको अवस्थामा रहेको उनले टिप्पणी गरेका छन् ।

उनले कम्युनिस्ट सरकार भ्रष्टाचार काण्ड, जग्गा काण्ड, वाइडबडी काण्ड, ओम्नि काण्ड, स्वास्थ्य उपकरण खरिद काण्ड जस्ता काण्डै काण्डमा फसेको बताए ।

कोरोना भाइरसको महामारीबाट जनतलाई जोगाउन सरकारले रचनात्मक कुनैपनि कार्यक्रम गर्न नसकेको उनले आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका नेता गिरीले क्रियाशील सदस्यता वितरण गर्दा कांग्रेसको विधान र चारतारे झण्डामुनी बसेर इमान्दारिताका साथ लागि पर्ने सबै युवाहरू क्रियाशील सदस्यता लिनका लागि आतुर रहेको बताए ।

उनले सबै युवाहरूलाई क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले ५० प्रतिशत मात्रै क्रियाशील सदस्यता वितरण गर्ने भन्ने योजना बनाएको हुँदा त्यसले पार्टीलाई सानो आकारमा खुम्चाउने उनले बताए ।

कांग्रेसको विधानमा रहेर कटिवद्धताका साथ लाग्ने सबैलाई क्रियाशील सदस्यता वितरण गर्नुपर्ने नेता गिरीले बताएका छन् ।

कांग्रेस नेता गिरीलाई शनिबार गृहजिल्ला दाङमा युवाहरूले भव्य स्वागत गरेका छन् । करीव एक सय मोटरसाइकालमार्फत कांग्रेसका युवाहरूले गिरीलाई ¥यालीसहित स्वागत गरेका थिए ।

कांग्रेस नेता गिरीले दाङका नेता तथा कार्यकर्ताहरूसँग भेट गरेका छन् । गिरीले उनीहरूसँग पार्टीको कुराकानी गरेको जनाइएको छ ।

Published : Sunday, 2020 July 26, 6:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया