निधि र डा.कोइरालाबीच गोप्य भेटवार्ता, राजकुमारहरूप्रति देउवा–पौडेल सशंकित

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औँ महाधिवेशन नेताहरूलाई लागेका बेला उप–सभापति विमलेन्द्र निधि र महामन्त्री डा.शशांक कोइरालाबीच गोप्य भेटवार्ता भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित डा.कोइरालाको निवासमा ती दुई नेताबीच सम्वाद भएको हो । दुई दिन अगाडि डा.कोइरालालाई भेट्न निधि निवासमै पुगेको उच्च स्रोतले जनाएको छ ।

डा.कोइराला वीपी कोइरालाका कान्छा छोरा हुन् । निधि महेन्द्रनारायण निधिका छोरा हुन् । दुबैले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने भित्रभित्रै तयारी गरेका छन् ।

निधि सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । डा.कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिए पनि डा.कोइरालाले आफै गुट चलाएर बसेका छन् । डा.कोइरालाले वरिष्ठ नेता पौडेललाई सभापतिमा साथ दिने सम्भावना निकै कम देखिएको छ ।

स्रोतका अनुसार आगामी महाधिवेशनमा कसरी जाने भन्ने विषयमा उनीहरूका बीच कुराकानी भएको छ ।

निधि र डा.कोइरालाबीच विभागहरूको विवादका विषयमा पनि छलफल भएको दाबी गरिएको छ । तर, सो विषयमा कुनै सहमति भएको छैन ।

निधिले देउवालाई रोकेर १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने योजना बनाएका छन् । महामन्त्री डा.कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिन सार्वजनिक रुपमा बताइसकेका छन् ।

उता, गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले पनि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ । डा.शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

कांग्रेसमा डा.काेइराला, निधि र सिंहलाई राजकुमारका रूपमा लिने गरिएकाे छ ।

Published : Friday, 2020 July 24, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया