कांग्रेस नेता सिटौलाद्वारा सम्पर्क कार्यालय स्थापना, सभापतिमा उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनलाई लिएर सम्पर्क कार्यालय खोलेका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित रिङरोडको मुख्य सडकबाट करीव एक सय मिटर नजिकै सम्पर्क कार्यालय खोलिएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

‘१४औँ महाधिवेशन आएको छ । नेता तथा कार्यकर्ताहरूसँग नियमित भेटघाटका लागि सम्पर्क कार्यालय खोलिएको हो’, चापागाइँले भने, ‘सम्पर्क कार्यालयबाटै १४औँ महाधिवेशनको तयारी गर्छौं ।’

नेता सिटौलाको सम्पर्क कार्यालय महामन्त्री डा.शशांक कोइरालाको निवास नजिकै छ ।

सम्पर्क कार्यालय स्थापना गरेर कांग्रेस नेता सिटौलाले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत दिएका छन् ।

कांग्रेसका युवा नेता एवम् तरुण उपाध्यक्ष चापागाइँले कृष्णप्रसाद सिटौलाद्वारा सभापतिमा उम्मेदवारी सम्भावना रहेको स्वीकार गरे ।

‘कृष्णप्रसाद सिटौला दाईले १४औँ महाधिवेशनमा उम्मेदवारी दिन सक्ने सम्भावना छ’, उनले भने, ‘महाधिवेशनको प्रक्रिया शुरु भएको छ । तयारीहरू गर्ने कुरालाई अन्यथा लिनु हुँदैन ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद भीमसेनदास प्रधानले पनि सिटौलाद्वारा सभापति पदमा उम्मेदवार बन्ने निकै सम्भावना रहेको बताए ।

उनले १३औँ महाधिवेशनमा सहभागी भएको सिटौला समूहफेरि पनि १४औँ महाधिवेशनमा एक भएर जाने बताए ।

Published : Friday, 2020 July 24, 6:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया