देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवटारमा बिहीबार भएको भेटवार्तामा कोरोना भाइरसको संक्रमण र रोकथाममा सरकारले गरिरहेको तयारीका विषयमा छलफल भएको हो ।
देउवाले १२० दिन लामो लकडाउन खुलेपछि ओलीलाई भेटेका हुन् ।
देउवाले लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि ओलीसँग आग्रह गरेका छन् ।
कोरोना भाइरसको परीक्षण पीसीआर प्रविधीबाट मात्रै गर्न आग्रह गर्दै देउवाले क्वारेन्टिनहरू अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि सभापति देउवाले आग्रह गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनःस्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कोरोना सृजित चुनौतिहरूका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरूले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया