रुखले छहारी दिए जस्तै कांग्रेसले कसैलाई भेदभाव गर्दैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस पार्टी कमजोर हुँदा कम्युनिस्टहरूका कारण देशको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने गरेको बताएका छन् ।

वीपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ कार्यसमितिले मंगलबार नलिन्चोकको सरकारी जंगलमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्यतामा सम्बोधन गर्दै खतिवडाले वीपी कोइरालाले देश र राष्ट्रियताप्रति देखाएको योगदानलाई सबैले मनन गर्नुपर्ने बताए ।

उनले रुखमा वीपी र कांग्रेस देखिने गरेको भन्दै रुखको संरक्षण गरियो भने त्यसले भेदभाव नगरी सबैलाई छहारी दिने बताए ।

‘दुईतिहाइको कम्युनिस्ट सरकारले फेरि जनतामाथि हिजोका दिनमा पञ्चायतले गरेको भन्दा पनि निर्मम प्रहार गर्न थालेको छ’, खतिवडाले भने, ‘बहुदलीय व्यवस्था र संसदीय व्यवस्थामा फेरि आक्रमण शुरु भएको छ ।’

‘यसको प्रतिरोध गर्नका लािग पनि आज हामीले वृक्षारोपणबाट हाम्रो कार्यक्रम गरेका छौँ’, उनले भने, ‘यो रुखले कसैलाई छायाँ दिनका लागि नजात भन्छ, नधर्म भन्छ, नवर्ग भन्छ नसम्प्रदाय भन्छ’, खतिवडाले भने, ‘रुखले धनी र गरिव पनि भन्दैन । पशुपन्छी भन्दैन । भेदभाव नगरी सबैलाई छहारी प्रदान गरेको छ ।’

‘कांग्रेसले पनि कसैलाई भेदभाव नगरी छहारी प्रदान गर्दछ’, खतिवडाले भनेका छन्, ‘देशमा दुईतिहाइ नजिक पुगेको कम्युनिस्ट सरकार आफ्नो पार्टीको व्यवस्थापन गर्न नसकेर मुलुक ध्वस्त पार्न लागेको बेलामा पार्टी व्यवस्थापन गर्न नसक्ने सरकारले देशको व्यवस्थापन गर्न सक्दैन ।’

‘कांग्रेस देशका लागि पनि एकजुट हुनुपर्ने बेला आएको छ’, खतिवडाले भने, ‘पार्टीमा तेरो र मेरो नभनेर हामी सबै मिलेर काम गर्नुपर्छ ।’

प्रदेशको निर्वाचनमा भक्तपुर जिल्लामा कांग्रेस नेतृत्वले देखाएको कार्यको उनले प्रशंसा गरे ।

‘भक्तपुरको स्थानीय चुनावमा पार्टी सभापतिले आफूले टिकट नलिएर साथीहरूलाई म होइन भनेर टिकट दिनुभयो’, खतिवडाले भने, ‘जसरी ०४६ सालमा गणेशमान सिंहले प्रधानमन्त्री म होइन मेरो साथी बनाउनुस् भनेर किसुनजीलाई बनाउनु भएको थियो ।’

‘त्यस बेला सफलताका साथ संविधान जारी भएको थियो’, उनले भने, ‘त्यसैगरी भक्तपुरका साथीहरूले म होइन मेरा साथीहरूलाई टिकट दिनुस् भनेर जिताउनुभयो । यो एकता प्रदर्शन गर्न भक्तपुरको जस्तो देशभरि भयो भने कांग्रेसलाई कसैले हल्लाउन सक्दैन ।’

पञ्चायतकालमा रुख रोप्नका लागि पनि लुकेर वृक्षारोपण कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले रुखमा वीपी कोइराला र कांग्रेसको थोपाथोपा रगत रहेको बताए ।

वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाका साथै भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, सूर्यविनायक वडा नम्बर ९ का तरुण अध्यक्ष भगवान केसीलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

वीपी कोइरालाको ३८औँ स्मृतिका अवसर दिवसका अवसरमा भक्तपुर तरुणले सरकारी बनमा विभिन्न जातका रुखहरू रोपेको थियो ।

Published : Tuesday, 2020 July 21, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया