प्रचण्डले ‘रंग बदले’, देखाइ छाडे बिगतको ‘गुण’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपाललाई धोका दिने संकेट गरेका छन् ।

दाहालले सोमबार ललितपुरस्थित आफ्नै निवास खुमलटारमा भएको पूर्वमाओवादी निकटका नेताहरूको छलफलमा नेता नेपालभन्दा खड्गप्रसाद ओलीसँग मिलेर जाँदा फाइदा हुने बताएको स्रोतले जनाएको छ ।

दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘माधव नेपालभन्दा खड्गप्रसाद ओलीसँग मिलेर जाँदा हामीलाई फाइदा हुन्छ ।’

खुमलटार बैठकमा दाहाल निकटका स्थायी समितिका बहुसंख्यक तथा अन्य नेताहरूले ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

उनीहरूले पार्टी एकतालाई सुदृढ र रक्षा गर्न पनि ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

दाहाल निकटका नेताहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनलाई भने समर्थन गर्न नसकिने निस्कर्ष निकालेका छन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहालले मुद्दा र विषयका आधारमा पार्टीभित्रका नेताहरूसँग मिलेर अगाडि बढ्ने प्रयास भइरहेको बताएका छन् ।

दाहालले ओलीले मंसिरमा महाधिवेशन गर्ने र बहुदलीय जनवादलाई मानेर अघि बढेमा एकल अध्यक्ष बनाउने प्रस्ताव आफूलाई राखेको भए पनि सो प्रस्ताव पनि आफूलाई अमान्य भएको बताएका थिए ।

नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृकाप्रसाद यादवबाहेकका नेताहरूले ओलीसँग मिलेर अगाडि बढ्ने सुझाव दाहाललाई दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी भएनन् ।

सोमबार प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

वरिष्ठ नेता नेपालले पनि आफ्नो निवास कोटेश्वरमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यसँग छलफल गरेका छन् ।

नेकपामा असन्तुष्ट समूहले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठाउँदै आएको छ ।

Published : Tuesday, 2020 July 21, 6:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया