क्वारेन्टिनमै मान्छे मर्न थालेपछि कांग्रेसद्वारा अनुगमन, डा.महतलाई सुनाए सरकारकाे गुनासो

नवलपरासी । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र ब्यवस्थापनका नाममा व्यापक भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

कांग्रेसले गठन गरेको कोरोना पछिको उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक समेत रहेका डा.महतले शुक्रबार नवलपरासीका केही क्वारेन्टिन अनुगमनपछि स्थानीय सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा डा.महतले कोरोनाको बहानामा कम्युनिस्ट सरकारलाई ब्रम्हलुट मच्चाउन फलिफाप भएको बताए ।

उनले स्थानीय तहमा बनाइएका अधिकांश क्वारेन्टिनहरूको अवस्था हेर्दा पनि सरकारले कोरोनाका नाममा दश अर्ब खर्च गरेको कुरा पत्याउन नसकिने बताए ।

‘क्वारेन्टिनहरूको अवस्था दैनिय छ । स्वास्थ्य सामग्रीहरू छैनन् । क्वारेनिटनमा बसेका मानिसहरूलाई आधारभूत सेवा र सुविधा समेत दिएको पाइएन’, उनले भने, ‘ती जनताको नाममा दश अर्ब खर्च भयो भन्ने तर, जनता क्वारेन्टिनमै मर्ने अवस्था आएको छ ।’

सह–महामन्त्री डा.महतले स्थलगत अनुगमन गर्दा आफूले अधिकांश क्वारेन्टिनमा स्यानिटाइजर, शौचालय र नुहाउने ठाउँको समस्या देखेको बताए ।

खड्गप्रसाद ओली नेतृत्वको केन्द्र सरकारले क्वारेन्टिनमा प्रहरी परिचालन बाहेक अन्य कुनै सहयोग नगरेको उनले बताए ।

क्वारेन्टिनमा बसेका व्यक्तिहरूले आफूहरूलाई पसुको जस्तो व्यवहार गरिएको भन्दै कांग्रेसका सह–महामन्त्री डा.महतसँग गुनासो गरेका थिए । उनीहरूले सामान्य सुविधा पनि नपाएको भन्दै सरोकारवाला निकायले कुनै पनि कुरामा ध्यान नदिएको बताएका छन् ।

डा.महतले क्वारेन्टिनमा बसेका व्यक्तिहरूको गुनासो सुनेपछि सरकारका मन्त्रीहरूले कोरोनाको बहाना बनाएर आफैले भ्रष्टाचार गरेको बताए ।

उनले कोरोनाको नाममा कम्युनिस्ट सरकार र त्यसका संयन्त्रहरूले गरेको भ्रष्टाचारको कांग्रेसले भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अर्बौं रकम अनियमितता भएको भन्दै डा.महतले कांग्रेसले यस विषयमा दोषीहरूलाई नग्याई छाड्ने प्रतिवद्धता जनाए ।

स्वास्थ्य सामग्री खरिदमा संसदको सार्वजनिक लेखा समितिले छलफल र छानविन अगाडि बढाएको उनले बताए । उनले सरकारलाई जनताका सामान्य स्वास्थ्य सुरक्षा र आवश्यक्ताहरूमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

सहमहामन्त्री डा.महतले लकडाउनबाट समस्यामा परेका अति निम्न परिवार र मजदुरहरूका मागलाई सम्बोधन गर्न आग्रह गर्दै भोकले मर्नुपर्ने अवस्था रोक्नुपर्ने समेत बताएका छन् ।

अनुगमनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद देवेन्द्रराज कँडेलसहित कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण, क्वारेन्टिन, उद्धार, राहत लगायतका नाममा दश खर्ब खर्च भएको विवरण सार्वजनिक गरेको छ । त्यो खर्च के र कसरी खर्च भन्ने कुरामा सर्वसाधारणहरूले पत्याउन सकेका छैनन् ।

क्वारेन्टिनमा बसेकाहरूले आत्महत्या गर्नेदेखि भाग्नेसम्मका गतिविधिहरू भइरहेका छन् ।

सो विषयमा जानकारी लिएर सरकारलाई सुझाव र दवाव दिन कांग्रेसले सह–महामन्त्री डा.महतको नेतृत्वमा समिति गठन गरेको थियो ।

तीन दिन अगाडि समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको थियो । त्यसपछि सांयेजक डा.महत क्वारेन्टिनको अवस्था बुझ्न नवलपरासी आएका हुन् ।

Published : Saturday, 2020 June 27, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया