तरुण दलद्वारा क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्न देशभरिका तरुणलाई निर्देशन

काठमाडौं । नेपाल तरुण दलले झण्डै दुईतिहाइको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार कोरोना भाइरसको संक्रमण नियन्त्रणमा असफल भएको भन्दै जनताको ज्यान बचाउन देशभरिका तरुणहरूलाई परिचालन हुन निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार परिपत्र जारी गरेर कम्युनिस्ट सरकारका कारण क्वारेन्टिनको अवस्था झन् दैनिय अवस्थामा पुगेको भन्दै सहयोगका लागि ७७ वटा जिल्लाका तरुणहरूलाई निर्देशन दिएका हुन् ।

उनले कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै भारत लगायत अन्य मुलुकबाट देश फर्किएका नागरिकहरूले अव्यवस्थित क्वारेन्टिनमा कष्टपूर्ण जीवन बिताइरहेको बताएका छन् ।

‘यस्तो अवस्थामा संक्रमण समुदायमा फैलिन नदिन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘सबैभन्दा जिम्मेवार र संवेदनशील हुनुपर्ने सरकार हामीले पटक पटक दवाव दिइरहँदा समेत जिम्मेवार र संवेदशील हुन सकिरहेको छैन ।’

‘त्यसैले सरकारलाई जिम्मेवार बनाउन र क्वारेन्टिनमा बसिरहका नागरिकको सहज दैनिकीको लागि निम्न कार्य सहकार्य गर्न यो परिपत्र गरिन्छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘क्वारेन्टिनस्थलमा स्वच्छ खानेपानीको उपलब्ध गराउन संगठनको तर्फबाट सबै प्रकारको सहयोग गर्ने/गराउने’, परिपत्रमा भनिएको छ, ‘क्वारेन्टिनमा बसिरहका दाजुभाई दिदीबहिनीहरूलाई खाद्यान्नलगायत आवश्यक सर सामग्रीहरू सक्दो सहयोग गर्ने/गराउने ।’

‘क्वारेन्टिनस्थलमा नियमित सरकारसफाइको लागि पहल गर्ने गराउने क्वारेन्टिनमा रहेका महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय र धाराको प्रबन्धको लागि सहयोग गर्ने/गराउने’, तरुण दलले भनेको छ, ‘क्वारेन्टिनमा बसोबास गरिरहेका सबै नागरिकको अनिर्वाय चाँडोभन्दा चाँडो पीसीआर परीक्षण गर्नका लागि सम्बन्धित निकायलाई दवाव दिइ परीक्षण गर्न लगाउने ।’

‘पीसीआर परीक्षणका लागि स्वाब कलेक्सन कार्यमा आवश्यक सहयोग गर्ने/गराउने’, तरुण अध्यक्ष बस्नेतले परिपत्रमा भनेका छन्, ‘क्वारेन्टिन व्यवस्थापनका लागि जति सकिन्छ आफूले पनि सहायेग र्ने र सम्बन्धित निकायको पनि नियमित ध्यानाकर्षण गराउने ।’

‘क्वारेन्टिनमा तोकिएको समय बिताइसकेपछि पनि कोभिड १९ कोरोना भाइरसबाट बच्नका लागि घरमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउने’, परिपत्रमा भनिएको छ, ‘महामारी समुदायस्तर कसरी फैलिन्छ सोबारेको जनचेतना जगाउन विभिन्न प्रकारको अभियान चलाउने ।’

कम्युनिस्ट सरकारले कोरोना भाइरसविरुद्धको काममा तदारुकताका साथ गर्नुपर्नेमा लापरबाही गरेको आरोप छ ।

Published : Wednesday, 2020 June 24, 6:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया