२४ घण्टामा काठमाडौं उपत्यका शून्य, सोमबार देशभरि ५३५ संक्रमित भेटिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ७४ महिला र ४६१ पुरुष गरी ५३५ जनामा संक्रमित भेटिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्र सोमबार कुनै पनि संक्रमित भेटिएका छैनन् ।

योसँगै नेपालमा हालसम्म ९५६१ जना संक्रमित भएका छन् । त्यसमा ८९४ जना महिला र ८६६७ पुरुष रहेका छन् । प्रा.डा.गौतमका अनुसार कोशी अञ्चल अस्पतालको प्रयोगशालामा दश जना संक्रमित भेटिएका छन् ।

विराटनगरको प्रादेशिक प्रयोगशालामा ७ जना संक्रमित भेटिएका छन् । गजेन्द्रनारायण अस्पताल राजविराजमा भएको परीक्षणमा ११ जना, जनकपुर प्रादेशिक प्रयोगशालामा १३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २८३ जना र भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा ४२ जना, पोखाराको शिक्षण प्रयोगशालामा १२ जना, पोखरा प्रादेशिक प्रयोगशालामा २० जना, रुपन्देहीको प्रयोगशालामा १२३ जना र दाङको प्रयोगशालामा १३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । हालसम्म रसुवा जिल्ला बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Published : Monday, 2020 June 22, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया