कृषि विकास बैंकमा स्वास्थ्यकाे ‘ओम्नी’ जस्तै काण्ड हुँदै, माधव नेपालका भतिजाको चलखेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सामग्री खरिदमा ‘ओम्नी’ समूहलाई पोसाउन सेटिङको खेल समाप्त हुन नपाउँदै कृषि विकास बैंकमा पनि सुरक्षा गार्ड राख्ने विषयमा सेटिङमा गतिविधि हुन थालेको छ ।

कृषि विकास बैंकका कार्यकारी निर्देशक अनिलकुमार उपाध्यायले सेटिङमा सेक्युरिटी कम्पनीहरूलाई सुरक्षा गार्ड राख्नका लागि टण्डर दिने गतिविधि गरेको उच्च स्रोतले जनाएको छ ।

उपाध्यायले सुरक्षा गार्ड राख्नका लागि कम दर रेट भएका सेक्युरिटी कम्पनीलाई टेण्डर दिनेभन्दा पनि महँगो दर रेट भएका सेक्युरिटी कम्पनीलाई सेटिङमा ठेक्का दिन चलखेल भएको स्रोतले जनाएको छ ।

बैंकका कार्यकारी निर्देशक उपाध्याय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भतिजा हुन् ।

उपाध्यायले जी फोर्स सेक्युरिटी, कालिञ्चोक सेक्युरिटी, गुरुड सेक्यरिटीलाई सेटिङमा ९ सय ६८ जना सुरक्षा गार्ड राख्ने ठेक्का दिन लागेको स्रोतले दाबी गरेको छ ।

अन्य कम्पनीहरूले भन्दा धेरै दर रेट राखेर यी तीन वटा कम्पनीले टेण्डर भरेको बैंकका एक कर्मचारीले बताए । धेरै दर रेट राखेका ती कम्पनीहरूलाई सेटिङमा ठेक्का दिन खोजेको चालपाएपछि अन्य कम्पनीहरूले आक्रोश पोखेका छन् ।

कृषि विकास बैंकले आह्वान गरेको मितिभित्र १५ वटा सेक्युरिटी कम्पनीहरूले टेण्डर भरेका छन् ।

जी फोर्स सेक्युरिटीका सञ्चालक नेपाली सेनाका पूर्व कर्णेल जयन्द्रबहादुर बस्नेत हुन् । कालिञ्चोक सेक्यरिटीका सञ्चालक नेपाली सेनाका पूर्व कर्णेल प्रदीप कुमार कार्की छन् ।

गरुड सेक्युरिटीका सञ्चालक सवल चन्द शाह रहेका छन् । यी तीन समूहले सेटिङमा धेरै ठाउँमा सुरक्षा गार्डको टेण्डार लिने गरेको आरोप लाग्दै आएको छ ।

कृषि विकास बैंकले अप्रिल २७ तारिखमा सात प्रदेशका लागि ९ सय ६८ जना सेक्यरिटीको माग गरेको थियो । छ वटा क्षेत्र तोकेर बोलपत्र आह्वान गरिएको छ ।

कृषि विकास बैंकको सामान्य सेवा विभागका प्रमुख ध्रुवचन्द्र गौतमले मापदण्ड पुगेकामध्येबाट सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार टेण्डर दिइने बताए । उनले सुरक्षा गाडी राख्ने टेण्डरमा कसैको पनि दवाव नरहेको बताए ।

‘सार्वजनिक खरिद ऐनअनुसार टेण्डर खोलिनेछ । कुनै पनि सेटिङ भएको छैन’, विभागका प्रमुख गौतमले भने, ‘टेण्डर दिने विषयमा तलमाथि भयो भने उजुरबाजुर गर्ने निकाय छ । छानविन हुन सक्छ । त्यस कारणले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर कुनै पनि काम हुँदैन ।’

विभागका प्रमुख गौतमले सुरक्षा गाडी उपलब्ध गराउन टेण्डर भरेका कम्पनीले न्युनतम १३ हजार ४ सय ५० रुपियाँ तलव भत्ता दिनुपर्ने बताए । सामाजिक सुरक्षाका विषयमा प्रतिवद्धता भएमा कमदर भाउ भएकोलाई टेण्डर दिइने बताए ।

बैंकका प्रवक्ता हीमलाल पौडेलले पनि सुरक्षा गार्डको टेण्डरमा कुनै पनि चलखेल नभएको दाबी गरे ।

करीव ५० करोडको यो ठेक्का हत्याउन विशेष गरेर जी फोर्स, कालिञ्चोक र गरुड सेक्युरिटी कम्पनीहरू शक्ति केन्द्रको दवाव र आर्थिक चलखेलमा लागेका छन् ।

यो चलखेलमा सेटिङ गरेवापत करीव दुई करोडसम्म कमिशन आउने भएपछि बैंकका कर्मचारी र सेक्युरिटी कम्पनीबीच मोलतोल भएको स्रोतले दाबी गरेको छ ।

Published : Monday, 2020 June 22, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया