यातायात व्यवसायी र श्रमिकहरूको समस्या सम्बोधन गरौँः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको बताएका छन् ।

बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक खाँणले समस्यामा परेका सबैको सरकारले ध्यान दिनुपर्ने बताए ।

‘कोरोना महामारी नियन्त्रण गर्न सरकारले लामो समय लकडाउन गरेको थियो’, उनले भने, ‘उद्योग व्यवसाय अहिलेसम्म पूर्ण रुपमा सञ्चालित छैन । सार्वजनिक यातायात ठप्प छ ।’

‘यातायात व्यवसायी र मजदुरहरू बेरोजगारीको मारमा परेका छन् । हवाइ उड्डयन गम्भीर रुपमा प्रभावित भएको छ’, उनले भने, ‘यस क्षेत्रका व्यवसाय र श्रमिकहरूलाई राहतको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

‘असार १ गतेबाट सरकारले भर्चुअल अनलाइनबाट क्लास शुरु गरेको छ’, कांग्रेसका सांसद खाँणले भने, ‘विद्यार्थीले सबै तहका पाठ्यपुस्तकहरू सहजताका साथ प्राप्त नगरेका कारणले पठन पाठनमा केही कठिनाइ भएको छ । सम्बन्धित विभागीय मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’

Published : Thursday, 2020 June 18, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया