सांसद गंगा चौधरीद्वारा काठमाडौं प्रहरीमा उजुरी दर्ता, ‘जय मधेसी’का नाममा उत्पापत मच्चाउँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रतिनिधि सभाकी सांसद गंगा चौधरीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने गरेर तस्वीर तोडमोड गरेर राखेपछि कारबाहीको माग गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी छिन् ।

‘जय मधेसी’ फेसबुक एकाउन्टबाट सांसद चौधरीको तस्वीरलाई फोटोशपबाट बिगारेर हालिएको छ । नग्न तस्वीरमा सांसद चौधरीको टाउको जोडेर फेसबुकमा ‘जय मधेसी’का नाममा चरित्र हत्या गरिएपछि बुधबार कारबाहीको माग गरेर निवेदन दिइएको छ ।

नेकपाकी सांसद लक्ष्मी चौधरीलाई सँगै लिएर गएकी सांसद चौधरीले राष्ट्रियताको पक्षमा बोल्दा केही तत्वले आफ्नो चरित्र हत्या गर्न सक्रिय भएर लागेको बताइन् ।

राष्ट्रियताको विषयमा जोडदार अभिव्यक्ति दिएपछि केही समूह र व्यक्तिलाई सो कुरा चित्त बुझेको थिएन ।

समाजवादी पार्टीकी सांसद सरिता गिरी, राजपाकी सांसदद्वय अमृता अग्रहरी र चन्दा चौधरीले नेकपाकी सांसद चौधरीको संसदमा विरोध गरेका थिए ।

सांसद चौधरीले आफ्नो तस्वीरलाई बिगारेर चरित्र हत्या गरिएकाले साइबर अपराधमा ती व्यक्तिहरूलाई कारबाहीको माग राखेर प्रहरीमा उजुरी दिइएको बताएकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले सांसद चौधरीले साइबर अपराधसम्बन्धी उजुरी दिएको बताए । सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएकी छिन् ।

Published : Thursday, 2020 June 18, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया