कोरोना नियन्त्रणमा ओलीले काम गर्न नसकेपछि दवाव दिन कांग्रेस सडकमा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आरडीटी परीक्षण तत्काल रोकेर पीसीआर परीक्षणको दायरा ब्यापक बढाउन कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार स्वास्थ सामग्रीको अपर्याप्त स्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ सामग्रीको पर्याप्त ब्यवस्थापन गर्नु सरकारसँग माग गरेको जनाएको छ ।

कांग्रेसले मंगलबार ७७ जिल्ला प्रशासन, मुख्यमन्त्री र विदेशस्थित कुटनैतिक नियोगहरूमार्फत कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कोरोनाविरुद्धको अभियानमा काम गर्न दवाव दिन ज्ञापनपत्र बुझाएको छ ।

‘क्वारेन्टाइनमा मृत्युदेखि बलात्कारसम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कार्वाही गर्दै तत्काल देशब्यापी रूपमा क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाइनु पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका व्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्छ ।’

‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार क्रममा निर्धारित अत्यन्तै महँगो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्वार गर्नुपर्छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारका दोषीलाई कार्वाही र यसबीचमा भएको भनिएको दश अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्छ’, कांग्रेसले ओली सरकार समक्ष माग राखेको छ ।

‘लक डाउनका कारण स्कुल कलेज बन्द भएर पचास लाख बढी नेपाली विद्यार्थी मानसिक तनाव ब्यहोरिरहेका छन्’, कांग्रेसले भनेको छ, ‘गम्भीर राष्ट्रिय विमर्श साथ उनीहरूको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथाशीघ्र निर्माण गरिनुपर्छ ।’

‘खेतीको मौसम मध्यनजर गरेर कृषि उत्पादनका सम्बन्धमा वातावरण, मल, बीउदेखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरूले तीब्र रुपले कार्य गर्नुपर्छ’, कांग्रेसले भनेको छ ।

‘लक डाउनका कारण साना–ठूला ब्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लक डाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण ब्यवस्थापन गरिनुपर्छ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘औधोगिक उत्पादनमा सरिक श्रमिकदेखि श्रमजीवी पत्रकारसम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई विविध ढंगले राहत योजना ल्याइनुपर्छ’, कांग्रेसले सरकारसँग माग गरेको छ ।

संघ, प्रदेश, जिल्ला, विदेशस्थित जनसम्पर्क समितिहरूले यी सुझाव, मागहरूसंगै अन्य आवश्यक सुझाव तथा माग समेटेर प्रधानमन्त्री ओलीसमक्ष ज्ञापनपत्र पठाइएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको संघर्षमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिविरुद्ध स्वदेश र विदेशका १२० स्थानमा विशेष ज्ञापनपत्र बुझाएको कांग्रेसले उल्लेख गरेको छ ।

Published : Tuesday, 2020 June 16, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया