काेराेना नियन्त्रण गर्न नक्सने कम्युनिस्ट सरकारले मंगलबार देशैभरि कांग्रेसकाे पावर देख्ने

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले कांग्रेस, अन्य दलहरू, नागरिक समाज र जनताको निरन्तरको सुझाव र दबाबका बावजुद सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्ने काममा गम्भीर रुपमा प्रस्तुत नभएको जनाएका छन् ।

ललितपुरको सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सहामहान्त्री डा.महतले सरकारको लापरबाही र बेवास्ताका कारण हजारौँ सर्वसाधारण संक्रमित हुनुका साथै १९ जनाले ज्यान गुमाउनु परेको बताएका हुन् । उनले मंगलबार देशभरि कांग्रेसले ज्ञापन पत्र बुझाउने बताए ।

उनले सम्भावित संक्रमणबाट मुलुकलाई जोगाउन कांग्रेसले सुरुवाती चरणदेखि नै नेपाल सरकारलाई सचेत गराउँदै आएको बताएका छन् ।

कांग्रेसले दवाव दिँदा पनि सरकारले क्वारेन्टाइनको अवस्था भद्रगोल राखेको भन्दै डा.महतले भने, ‘सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टाइनमा लागू भएको छैन ।’

‘क्वारेन्टाइनमा नागरिकको ज्यान गइरहेको छभने अर्कातर्फ क्वारेन्टाइनहरू कोभिड–१९ संक्रमण केन्द्रका रुपमा परिणत भइरहेका छन्’, उनले भने, ‘क्वारेन्टाइनमा दुई हप्ता भन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको छभने परीक्षण भएकाहरूको पनि लामो समय रिपोर्ट नआउँदा अन्यौलताको स्थिति निर्माण भएको छ ।’

सहमहामन्त्री डा.महतले कतिपय जिल्लामा कीटको अभावमा परीक्षण नै रोकिएका खबर आइरहेको भन्दै क्वारेन्टाइनहरूमा स्वास्थ्य बाहेक अन्य हिंसाका घटनाहरू समेत सार्वजनिक भैरहेकोमा चिन्ता जनाए ।

कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध हुनु निन्दनीय भएको कांग्रेसका सहमहामन्त्री डा.महतले बताए ।

लकडाउन भएको ८३ दिनमा पनि कुनै ठोस कार्ययोजना र क्रियाशीलताविना सरकारले लकडाउन लम्ब्याएको प्रष्ट भएको उनले बताए ।

सहमहामन्त्री डा.महतले कांग्रेसले असार २ गते मंगलबार देशभरि नै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउन लागेको बताए ।

सातै प्रदेशका मुख्यमन्त्री र विदेशमा रहेका नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

‘हामीफेरि पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं कि जनताको स्वास्थ्य, दैनिक जनजीविकालाई सहज बनाउने कुरा सरकारले सुनिश्चित गर्नुपर्छ’, उनले भने, ‘देशका विभिन्न ठाउँमा वर्षाको समयमा किसानलाई अत्यावश्यक पर्ने रासायनिक मल तथा बीउ बिजनको समेत अभाव र अनियमितता देखिएको छ ।’

कांग्रेसका सहमहामन्त्री डा.महतले आरडीटी परीक्षण बन्द गर्न माग गरे । उनले आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पीसीआर परीक्षणलाई व्यापक रुपमा विस्तार गर्न माग गरेका छन् ।

उनले पीसीआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर नपठाउन सरकारसँग माग गरेका छन् ।

‘असुरक्षित क्वारेन्टाइनहरू बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनहरूको व्यवस्था गरियोस्’, उनले भने, ‘खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आम श्रमिकहरू, दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरू, शहर केन्द्रित स्थानहरूमा डेरा गरी बसेका विद्यार्थी, एकल महिला, अपाङ्गता र अशक्त नागरिकहरू, बालबालिका तथा ज्येष्ठ नागरिकहरू तथा आम नागरिकहरूको न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यवस्था गरियोस् ।’

Published : Monday, 2020 June 15, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया