वैदेशिक रोजगार व्यवसायीहरूको नवीकरणको बाटो खुलाइदिन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले वैदेशिक राजगार व्यवसायीहरूको इजाजत पत्र नवीकरणमा समस्या भएको भन्दै ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरेर कोरोनाको महामारी र लकडाउनले वैदेशिक रोजगार व्यवसायीहरूको व्यवसाय संकटमा परेको भन्दै इजाजत पत्र नवीकरणमा देखिएको समस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।
उनले वैदेशिक रोजगार व्यवसायमा पनि कोरोनाका कारण गम्भीर प्रभाव परी व्यवसाय ठप्प भएको बताएका छन् ।
‘कोरोना भाइरसको महामारीको कारणले गर्दा वैदेशिक रोजगारीका लागि युवाहरू विदेश जान रोकिएको र विदेशबाट श्रमिकहरूको समेत माग नभएको हुँदा यस विषम परिस्थितिमा वैदेशिक रोजगारीमा वार्षिक १०० जना कामदार पठाउनुपर्ने जस्ता वाध्यात्मक व्यवस्थाले नेपालका करीब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र नवीकरण नहुने अवस्था सिर्जना भएको छ’, खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘हालको विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगारी व्यवसायीको इजाजत पत्र नवीकरण लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं’, प्रमुख सचेतक खाँणले भनेका छन् ।
नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगार व्यवसायीहरूलाई वर्षमा कम्तिमा पनि १०० कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने हुन्छ । सो व्यवस्था हटाउन व्यवसायीहरूले यसअघि माग गर्दै आएका थिए ।
कोरोना भाइरसको संक्रमणका कारण छ महिनादेखि व्यवसायीहरूले सहज रुपमा काम गर्न पाएका छैनन् । रोजगारदाता कम्पनीले पनि कोरोनालाई देखाएर माग नगरेपछि वैदेशिक रोजगार व्यवसायीहरू झन् संकटमा परेका हुन् ।
यस्तो अवस्थामा सरकारले व्यवसायीहरूको इजाजत पत्र नवीकरणमा स्पष्ट व्यवस्था नगरिदिँदा अन्यौलता भएको छ । कांग्रेसले वैदेशिक रोजगार व्यवसायीहरूको सो मागलाई ध्यान दिन कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया