कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, फिर्ता ल्याउन कांग्रेसले सहयाेग गर्छः देउवा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूमि नेपालको रहेको विषयमा कुनै विमती नरहेको बताएका छन् ।

शनिबार बसेको संसदको बैठकमा नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथिको दफवार छलफलमा बोल्दै देउवाले कांग्रेसले संशोधन प्रस्तावलाई समर्थन गर्ने र भारतसँग वार्ता गर्ने क्रममा समेत सरकारलाई पूर्ण समर्थन गर्ने बताएका हुन् ।

‘सुगौली सन्धी ८१६ का अनुसार कालापनी पूर्वको भूमि नेपालको हो भन्ने स्पष्ट छ’, देउवाले भने, ‘कालीनदी पूर्वको भूमि नेपालको हो भन्नेमा विमती छैन ।’

‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले नेपालको भूमि फिर्ता लिने सम्बन्धमा संसोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ’, उनले भने, ‘संसदीय दलको बैठकमा पनि निर्णय भएको छ ।’

उनले संशोधन प्रस्तावमा सबै पार्टीको समर्थन देखिएको बताए । नेपालको राष्ट्रिय एकता महत्वपूर्ण रहेको देउवाले बताएका छन् ।

‘नेपालीहरू जुनसुकै ठाँउमा किन नहुन्, राष्ट्रिय हितका लागि एक छन् भन्ने यसले प्रस्ट पारेको छ’, कांग्रेसका सभापति देउवाले भनेका छन् ।

उनले भने, ‘म सबै दलका साथीहरुलाई धन्यवाद दिन चाहान्छु ।’ भूमि फिर्ता लिन गरिने सबै प्रयासमा सरकारलाई कांग्रेसले सहयोग गर्ने उनले बताएका छन् ।

‘भूमि फिर्ता लिने सन्दर्भमा सरकारलाई हाम्रो सहयोग रहन्छ भन्ने विश्वास दिलाउन चाहान्छु’, उनले भनेका छन् ।

Published : Saturday, 2020 June 13, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया