दश खर्बकाे काण्ड नसेलाउदै कम्युनिस्ट मन्त्रीले दिए कार्यकर्तालाई एक कराेडकाे सरकारी गाडी
चन्द्रौटा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदय त्रिपाठीले आफ्ना कार्यकर्तालाई एक करोडभन्दा धेरै मूल्य पर्ने मन्त्रालयको सरकारी गाडी चढ्न दिएका छन् ।
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्री त्रिपाठी सरकारी गाडी दुरुपयोग गर्ने मन्त्रीहरूको सूचीमा सबैभन्दा अगाडि छन् ।
त्रिपाठीको ‘स्वतन्त्र समूह’का कपिलवस्तु जिल्लाका नेता ईश्वरदयाल मिश्रालाई मन्त्रालयको बा २ झ ३३६८ नम्बरको पिकअप गाडी दिएको स्रोतले जनाएको छ । सरकारी गाडी पाएका मिश्रा कपिलवस्तुमा सत्ताको राजनीतिक रवाफ देखाउँदै हिँड्ने गरेका छन् ।
मन्त्री त्रिपाठीबाट सरकारी गाडी उपहार स्वरुप पाएपछि मिश्राले सोही गाडी चढेर कपिलवस्तुमा छाती फुकाएर हिँड्ने गरेको उनका छिमेकीहरूले बताएका छन् । लकडाउनको अवधिभरि सोही गाडीमा मिश्रा हिँड्ने गरेको प्रत्यक्षदर्शीहरूले बताए ।

नेता मिश्रालाई मन्त्री त्रिपाठीले कुन हैसियतले मन्त्रालयको यती धेरै महँगो गाडी दिएका हुन् खुलेको छैन । मिश्राले कुनै राजनीतिक नियुक्ति पनि पाएका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीसँग मिश्राले सरकारी गाडी चढेको बारेमा सोधिएको प्रश्नमा आफूलाई कुनै जानकारी नरहेको बताए ।
‘त्यो गाडी मन्त्रालयको हो । कसले चढेको छ भन्नेबारे मलाई जानकारी छैन’, प्रवक्ता अधिकारीले भने, ‘मन्त्रालयमार्फत सञ्चालन भइरहेको तराई मधेस कार्यक्रम चलिरहेको छ । त्यो गाडी त्यही कार्यक्रमको हो कि ? मलाई थाहा भएन । सोही कार्यक्रमसँग बुझ्नुपर्छ ।’
स्वतन्त्र समूहका नेता मिश्राले सरकारी गाडी आफूसँग नरहेको दाबी गरेका छन् । तपाईको घरमै बा २ झ ३३६८ नम्बरको गाडी भेटियो, हामीसँग तस्बीर पनि छ, प्रत्यक्षर्शीहरूले त्यो सरकारी गाडी तपाईले करीव चार महिनादेखि चढेको भनेका छन् नि ? भनेर सोधिएको जिज्ञासामा मिश्राले भने, ‘मेरो घरमा दुई वटा गाडी छन् । सरकारी गाडी छैन । म सरकारी गाडी चढेको छैन ।’ स्वतन्त्र समूहका मिश्राले सरकारी गाडी आफ्नो घरमै रहेको समेत सिधै झुठ बोलेर ढाँटेका छन् ।

मन्त्री त्रिपाठीको स्वतन्त्र समूहका नेता मिश्रले सरकारी गाडी आफूसँग नभएको दाबी गरे पनि कृष्णानगरस्थित उनकै निवासभित्र रहेको बा २ झ ३३६८ नम्बरको गाडीको तस्वीर रिपब्लिका दैनिक डटकमलाई प्राप्त भएको छ ।
मधेस र मधेसी जनताको नाममा राजनीति गर्दै आएका मन्त्री त्रिपाठी पटक–पटक मन्त्री भइसकेका छन् । मधेसी जनताको नाममा सबैभन्दा धेरै अबर पाउने नेताका रुपमा त्रिपाठी पर्छन् ।
शक्तिको दुरुपयोग गर्नमा त्रिपाठी पहिलो नम्बरमा छन् भनेर आरोप लाग्दै आएको छ । उनले मन्त्रालयका आधा दर्जन बढी सरकारी कब्जा गरेर आफ्ना परिवारजनलाई दिएको भनेर यसअघि पनि समाचार आएका थिए ।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा काम गर्न नसकेको, दश खर्बको हिसाब दिन नसकेको, राष्ट्रपतिलाई एक करोडको कार्पेट राखिदिएको भनेर आलोचना भइरहेका बेला मन्त्री त्रिपाठीले आफ्ना कार्यकर्तालाई एक करोडको सरकारी गाडी चढ्न दिएको रहस्य बाहिर आएको छ ।

कोरोनाबाट क्वारेन्टिनमै जनताले ज्यान गुमाइरहेका छन्, जनता लकडाउनका कारण भोकै छन् । तर, मन्त्रीका कार्यकर्ताहरू भने सरकारी गाडी मोज गर्दै आएका छन् ।
मन्त्री त्रिपाठीलाई मन्त्रालयमा कर्मचारीहरू सरुवामा चलखेल गरेको भनेर आलोचना हुँदै आएको छ ।
निर्वाचनका बेला तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजाप) छाडेर त्रिपाठीले स्वतन्त्र समूह बनाएका थिए । नवलपरासी जिल्लाबाट त्रिपाठीले तत्कालीन एमालेको चनाव चिन्ह ‘सूर्य’बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया