सरकारको भ्रष्टाचार हेर्ने लेखा समिति निदायाे, दश अर्बको फाइल खोलौंः कांग्रेस नेता थकाली
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका नाममा दश अर्ब खर्च भएको विषयप्रति चिन्ता जनाएका छन् ।
पूर्वसांसद समेत रहेका कांग्रेस नेता थकालीले बुधबार प्रेस नोट जारी गरेर कोरोना नियन्त्रणमा खर्च भएको दश अर्बको हिसाब जनतालाई दिनुपर्ने बताए । जनता लकडाउनका कारण भोकै मर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘पाँच किलो चामल वितरण गरेर दर्श अर्ब खर्च देखाउनु भनेको भ्रष्टाचार हो । यो कुरा मान्न जनता तयार छैनन् ।’
उनले देशभरिका क्वारेन्टिनहरूको अवस्था दैनीय रहेको बताए । उनले देशभरि रहेका क्वारेन्टिहरूको अवस्था हेर्ने हो भने सरकारको तयारी कस्तो छ भन्ने कुरा स्पष्ट हुने बताए ।
‘क्वारेन्टिनमा जनता भोकै छन् । बालबालिकाहरूको अवस्था दैनीय छ’, उनले भने, ‘पिउने पानी, ट्वाइलेट, सुत्ने ठाउँ राम्रो छैन । संक्रमितहरूको उपचारमा पनि राम्रोसँग ध्यान दिइएको छैन ।’
स्वास्थ्य सामग्री खरिदका नाममा ठूलो घोटाला भएको भन्दै कांग्रेस नेता थकालीले प्रश्न गर्दै भने, ‘लकडाउन भएको तीन महिना पुग्न लाग्यो । यो अवधिमा अस्पतालहरूमा के सुधार भयो ? स्वास्थ्य सामग्रीहरू के–के ल्याइयो ? क्वारेन्टिनको अवस्था कस्तो छ सबैलाई जानकारी छ ।’
उनले कोरोना नियन्त्रणका नाममा भएको खर्चको विषयमा संसदको सार्वजनिक लेखा समितिले कागजपत्र मगाएर छानविन गर्नुपर्ने बताए ।
‘अहिलेको तयारी र गतिविधिले कोरोना रोकथाममा दश अर्ब खर्च भयो भन्ने कुरा मान्न जनता तयार छैनन्’, उनले भने, ‘सार्वजनिक लेखा समितिले ती कागजपत्र मगाएर छानविन गर्नुपर्छ । आवश्यक प¥यो भने प्रधानमन्त्रीलाई पनि बोलाएर स्पष्टीकरण लिन सक्ने अधिकार समितिलाई छ ।’
कोरोना भाइरसको संक्रमण रोकथाममा भएको अनियमितताका बारेमा गम्भीर प्रश्न उठेका बेला लेखा समिति सुतेर बसेको भन्दै कांग्रेस नेता थकालीले चिन्ता जनाए । ‘यो बेला लेखा समिति झन् सक्रिय हुनुपर्ने थियो’, उनले भने, ‘लकडाउनका बेला लेखा समिति सुतेर बसेको छ । चिन्ताको विषय बनेको छ ।’
सार्वजनिक लेखा समितिका सभापति भरत शाहले निस्क्रिय बनाएको आरोप लागिरहेका बेला कांग्रेसकै नेता थकालीले पनि समितिले काम गर्न नसकेको भनेर चिन्ता जनाएका हुन् ।
पूर्वमन्त्री थकालीले आरडीटी परीक्षण रोक्न माग गरे । उनले आफ्नो गृहजिल्लाको अनुभव सुनाउँदै भने, ‘मेरै जिल्लामा आरडीटी परीक्षणमा कोरोना देखियो, पीसीआर परीक्षणमा नेगेटिभ आयो । यो आरडीटीको काम छैन ।’ नेता थकालीले आरडीटी परीक्षण गरेर पीसीआर परीक्षण गर्दा दोहोरो खर्च मात्रै हुने उल्लेख गरे ।
कांग्रेस नेता थकालीले सामाजिक दुरी कायम गरेर लकडाउनलाई खुकुलो बनाउनुपर्ने बताए । ‘विज्ञहरूको सल्लाहमा लकडाउन खुकुलो बनाउनुपर्छ’, उनले भने, ‘कोरोना रोकथाम र लकडाउनका विषयमा सरकारले विज्ञहरूसँग सरसल्लाह गरेको मैले थाहा पाएको छैन । सरकारले लकडाउन र कोरोनाका बारेमा प्रत्येक दिन जस्तै विज्ञहरूसँग सल्लाह गर्नुपर्ने थियो । तर, परामर्श गरिएको छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया