कम्युनिस्ट मन्त्री याेगेश भट्टराईको मन्त्रालयमा भ्रष्टाचार, कांग्रेसद्वारा कारबाहीको माग
काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को विश्वव्यापी महामारीले विश्व नै आक्रान्त भैरहेका बेला पछिल्लो समय नेपालबाट विभिन्न देशमा चार्टर्ड उडान गरेर चार गुणासम्म महङ्गो शुल्क लिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागका संयोजक गोविन्द भट्टराईले मंगलबार विज्ञप्ति जारी गरेर निजी ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चार्टर्ड उडान गरेको देखिएको बताए ।
‘मानिसहरूले रोजगारी गुमाएको र पेशा, व्यवसाय संकटमा परेको अहिलेको अवस्थामा सरकारले नै सक्रियता देखाएर सस्तोमा उडान गर्नुपर्ने हो’, संयोजक भट्टराईले भने, ‘तोकिएको भाडादरभन्दा चार गुणा महङ्गो भाडा असुलेर जापान, हङकङ, भारत, ढाका, अष्ट्रेलिया लगायतका मुलुकमा चार्टर्ड उडान गरिरहेका छन् ।’
‘यो महामारीको समयमा सामाजिक उत्तरदायित्वबोध समेत नगरी भएका यस्ता कार्य तत्काल रोक्न म सरकारसँग निम्न अनुसारको माग गर्दछुु’, भट्टराईले विज्ञप्तिमा भनेका छन् ।
‘चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएको भन्दा महङ्गो शुल्क लिने अनुमति दिने पर्यटन मन्त्रालय, वायु सेवा निगमका अधिकारी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, गृह मन्त्रालय लगायत माथि छानविन सुरु गरियोस्’, कांग्रेसले भनेको छ ।
‘नेपाल वायु सेवा निगमको चार्टर्ड उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो ? त्यसको तत्काल सार्वजनिक गरी महङ्गो भाडा लिएका ट्राभल्स एजेन्सीमाथि छानविन गरी कारबाही प्रक्रिया अघि बढाइयोस्’, कांग्रेसले माग गरेको छ ।
‘कुवेत लगायतका केही मुलुकहरूले नेपाली कामदारलाई उनीहरूकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति मागिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘४१ दिनदेखि कुवेत सरकारले नेपाली कामदारलाई ट्राभल्स डकुमेट तयार गरी एकै ठाउँमा राखेर नेपाल ल्याउने अनुमति कुरिरहेको छ ।’
‘नेपाल सरकारले अझैसम्म किन उनीहरुलाई आउने अनुमति दिएको छैन ? कि ति नेपाली ल्याउन पनि चार्टर्ड उडानका नाममा कमिसनको खेल सुरु गर्नका लागि रोकिएको हो ?’, कांग्रेसको प्रश्न छ, ‘तत्काल नेपाल आउन चाहने ती नेपालीहरूलाई फिर्ता ल्याउने अनुमति दिइयोस् ।’
संस्कृति, पयर्टन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईकै संरक्षणमा चार्टर्ड उडानहरूमा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको आरोप लागेका बेला कांग्रेसले कारबाही र छानविनको माग गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया