गगनको आलोचना गर्दा महेश बस्नेतलाई सचेत गराइयो, नेकपाका सांसदहरूलाई ‘रेडकार्ड’

काठमडौं । संविधान संशोधनमाथिको छलफल भइरहेका बेला विषयान्तर गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूलाई रुलिङ गरेर रोक्नु परेको छ ।

संसदको मंगलबार बसेको बैठकमा संविधान संशोधनको सामान्य छलफलमा सहभागी हुने क्रममा नेकपाका सांसदहरूले विषयान्तर भइ जथाभावी बोल्न खोजेपछि सभामुख अग्नि सापकोटाले रुलिङ गरेका थिए । बैठकमा नेकपाका आधा दर्जनभन्दा धेरै सांसदहरूलाई रेडकार्ड देखाउनु परेको थियो ।

सापकोटाले नेकपाका सांसदहरू गंगा चौधरी, गोपालबहादुर बम, आशाकुमारी बिक, गजेन्द्रबहादुर महत, महेश बस्नेत, झपट रावल लगायतलाई रुलिङ गरेर संविधान संशोधनमा मात्रै बोल्न निर्देशन दिएका थिए ।

नेकपाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद गगन थापाविरुद्ध अभिव्यक्ति दिएपछि सभामुख सापकोटाले बस्नेतलाई सचेत गराएका थिए ।

कम्युनिस्ट सांसद बस्नेतले कांग्रेसका सांसद थापाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेको भन्दै आक्रोश पोखेका थिए ।

बस्नेतले संविधान संशोधनमा बोल्ने बेला कांग्रेस सांसद थापाको आलोचना गर्नेतिर लागेपछि सभामुखले सचेत गराउनु परेको थियो । सभामुख सापकाेटाले सांसद थापाकाे आलाेचना गर्ने उचित समय हाेइन भनेर बस्नेतलाई सचेत गराएका थिए ।

Published : Tuesday, 2020 June 9, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया