कांग्रेसद्वारा संविधान संशोधनमा समर्थन, खाँणले दिए संसदमा नक्साबारे मन छुने सम्बोधन
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विधेयकलाई समर्थन गरेको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा संविधान संशोधनको प्रस्तावको सामान्य छलफलमा सहभागी हुँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीको निर्णयअनुसार संशोधनलाई समर्थन गरिएको बताए ।
‘नेपालको स्वतन्त्रता, सार्वभामता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीतालाई अक्षुण राख्न हामी सदैब दृढ प्रतिवद्ध रहँदै आएका छौँ’, उनले भने, ‘१८१६ को सुगौली सन्धीअनुसार लिम्पियाधुराबाट बग्ने कालीनदीको पूर्वी भू–भाग लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो ।’
‘नेपाली कांग्रेसले बारम्बार यो अडान राख्दै आएको छ’, उनले भने, ‘नेपाल सरकारले लिम्पियाधुुरा, लिपुलेक, कालापानीको भू–भाग समावेश गरी नेपालको नक्सा जारी गरेको र नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ लाई संशोधन गर्न संघीय संसदमा प्रस्तुत गरेको संविधान संशोधनको विधेयकको पक्षमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मतदानका लागि संसदीय दललाई औपचारिक र संस्थागत रुपमा निर्णय गरेको छ ।’
‘हाम्रो संसदीय दल यो प्रस्तावको पक्षमा रहेको छ । संस्थागत रुपमै हामीले यो निर्णय गरेका छौँ’, खाँणले भने, ‘विगतमा नेपाली कांग्रेस नेतृत्वका सरकारहरूले भारतीय पक्षसँग भएको हरेक औपचारिक, अनौपचारिक वार्तामा सो भू–भाग नेपालकै रहेको स्पष्ट धारणा राख्दै आएको हो ।’
‘पछिल्लो समय १५ मे २०१५ मा भारत र चीनले हाम्रो भूमि लिपुलेकलाई दुई देशबीच व्यापारिक बनाउने सहमति बेइजिङमा गर्दा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै मुलुकलाई प्रोटेस्ट नोट पठाएर नेपाली कांग्रेस र तत्कालीन सरकारको धारणा प्रष्ट राखेको हो’, उनले भनेका छन् ।
‘वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले विगतमा भारतले नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गर्दा उक्त भूमि नेपालको भएको प्रष्ट धारणा राख्दै तत्कालै त्यसका लागि राष्ट्रिय विमर्शको लागि आह्वान पनि गर्नुभएको थियो’, प्रमुख सचेतक खाँणले भने ।
‘प्रधानमन्त्रीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा पनि यस सन्दर्भमा नेपालको भू–भाग संरक्षण गर्न नेपालको भू–भाग नेपालकै हकभोगमा ल्याउन नक्सा जारी गर्नका लागि सरकारलाई दृढ सहयोग रहने विचार पनि उहाँले व्यक्त गर्नुभएको थियो’, खाँणले भने ।
‘सन् २०१९ को नोभेम्बरमा भारत सरकारले हाम्रो भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी गाँसेर नक्सा प्रकाशित गरे लगत्तै नेपाली कांग्रेसले सार्वजनिक रुपमा यस घोर असहमति प्रकट गरेको थियो’, कांग्रेसका प्रमुख सचेतक खाँणले भने ।
‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका संसदीय समितिहरूले पनि सरकारलाई नक्सा जारी गर्नका लागि र यो भू–भाग नेपालमा समाहित गर्नका लागि बारम्बार सरकारलाई निर्देशन दिँदै आएको हो’, उनले भनेका छन् ।
‘त्यही निर्देशन बमोजिम छ महिनापछि यो भू–भाग समेटेर अहिले नक्सा जारी गरिएको छ । यो सकारात्मक छ’, उनले भने, ‘त्यो नक्सालाई हाम्रो संविधानको अनुसूची अनुकूल गर्नको लागि संशोधन विधेयक ल्याइएको छ । सकारात्मक छ । यसको पक्षमा नेपाली कांग्रेस दृढ समर्थन गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया