लिम्पियाधुरा नेपालको होइन भन्ने गिरीको सांसद पद उडाइदिन कांग्रेस नेताको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा नेपालको होइन भन्ने सरिता गिरीको सांसद पद खोस्न माग गरेका छन् ।

कांग्रेस नेता गुरुङले सोमबार साँझ ट्वीट गर्दै समाजवादी पार्टीकी सांसद गिरीको नाम नलिएर उनलाई सांसद पदबाट हटाउन माग गरेका हुन् ।

‘एक जना सांसदले लिम्पियाधुरा नेपालको हो भन्ने कुरा स्वीकार्दिनँ भनेको समाचार माध्यममा आएको रहेछ’, कांग्रेस नेता गुरुङले ट्वीट गर्दै भनेका छन् ।

‘नेपाली भूमिलाई नेपालको होइन भन्ने जोसुकै भए पनि राष्ट्रघाती हो’, उनले भने, ‘त्यस्ता राष्ट्रघातीहरूको सांसद पद तत्काल खोस्नु पर्दैन ?’

समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी गिरीले एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा लिम्पियाधुरा नेपालको हो भनेर आफूले मान्न नसक्ने बताएकी छिन् ।

भारतमा माइती भएकी सांसद गिरीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर नेपालको नयाँ नक्सा जारी गरिएकोमा विरोध गर्दै आएकी छिन् ।

सांसद गिरीले भारतद्वारा आतिक्रमित नेपाली भूमि नयाँ नक्सामा समावेश गर्दा भारतसँग सोधेर मात्रै राख्नुपर्ने कुर्तक गरेपछि विरोध भइरहेको छ ।

Published : Monday, 2020 June 8, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया