कोरोनाका नाममा कुम्ल्याउनेलाई कांग्रेसले नछाड्ने, कम्युनिस्ट सरकारसँग दश अर्बको हिसाव माग्ने
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सरकारद्वारा कोरोना नियन्त्रण र राहतमा खर्च गरिएको भनिएको दश अर्बको हिसाव किताव माग गरेका छन् ।
ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरू दश अर्ब कहाँ र कसरी खर्च भयो भनेर सरकारसँग हिसाव किताव माग गर्नुपर्ने बताएका हुन् । उनीहरूले क्वारेन्टिनमा आधारभुत सुविधा समेत नरहेको भन्दै लकडाउनमा परेका जनताले राहत समेत नपाएको बताए ।
लकडाउनका कारण खान नपाएर जनता भोकै मर्नुपरेको भन्दै कांग्रेस नेताहरूले सरकार कोरोना नियन्त्रण र राहत वितरणमा पूरै असफल भएको निस्कर्ष निकालेका छन् ।
सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर कांग्रेसले गरेको छ । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र दिने पनि निर्णय गरेको छ ।
प्रमुख विपक्षी दल कांग्रेसले पर्याप्त स्वास्थ्य सामग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा व्यापक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो भएको उल्लेख गरेको छ ।
आइसोलेसन सेन्टरसँगै प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसलाई सुरक्षितरूपमा उनीहरूको घर पुग्ने प्रबन्ध गर्न नसकेको भन्दै कांग्रेसले राहत सामग्रीको वितरण उचित र न्यायपूर्ण हुन नसकेको जनाएको छ ।
केन्द्रीय सदस्य रमेश लेखकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका निम्ति पूर्णरूपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिएका छन् ।
संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभूति गर्न नसकेको निष्कर्ष कांग्रेसले जनाएको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड–१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया