कम्युनिस्ट सरकारका शिक्षामन्त्री जथाभावी बाेलेपछि कांग्रेसका खाँणले औँलो देखाएर सचेत गराए
काठमाडौं । कोरोना भाइरसको संक्रमण र लकडाउनमा जनता घरभित्र थुनिएर बसेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका शिक्षा मन्त्रीले अब विद्याल छिटै चल्छन् भनेर विद्यार्थी र अभिभावकहरूलाई तर्सित बनाएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
संसदको आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले शिक्षामन्त्री गिरिजामणि पोखरेललाई विद्यालयलाई लिएर विद्यार्थी र अभिभावकलाई तर्सित नबनाउन सचेत गराएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारी विद्यालयमा क्वारेन्टाइन रहेका बेला शिक्षा मन्त्रीले अब छिटै विद्यालय चल्छन् भन्दै हिँडेको भन्दै आक्रोश पोखे ।
‘शिक्षामन्त्रीले अब विद्यालय चल्छन् । परीक्षा लिइन्छ भन्दै हिँड्नुहुन्छ’, उनले भने, ‘भर्ना हुन आउ भन्नुहुन्छ ।’
उनले क्वारेन्टाइनमा सरकारले नागरिक राखे पनि खानालगायत सेवा सुविधा नदिएको बताए ।
‘कसैलाई भोकै रहन दिन्न । मर्न दिन्न भन्ने अनि क्वारेन्टाइनमा बस्नेलाई आफैं खाना लिएर आऊ भन्ने ?’, कांग्रेसका प्रमुख सचेतक खाँणले प्रश्न गरेका छन् ।
निजी विद्यालयहरू सञ्चालन हुन थालेकोप्रति सांसद खाँणले पठनपाठनका लागि भन्दा पनि शुल्क लिनका लागि निजीमा भर्ना सुरू भएको बताएका छन् ।
‘सरकारी विद्यालय क्वारेन्टाइन, निजीलाई शुल्क लिन सञ्चालन गर्ने ? यो विलकुलै अनुचित हुन्छ’, खाँणले भने, ‘विद्यालय चलाउने हो भने सबै चलाउनुपर्छ । निजी विद्यालय मात्रै खाेल्ने कुरा हुँदैन ।’
जेठ २१ गतेदेखि केही निजी विद्यालयमा विद्यार्थी भर्ना सुरू भएका छन् ।
उनले त्रिभुवन विश्वविद्यालयमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक हजार चार सय दरबन्दीमा शिक्षक राखिएको उल्लेख गर्दै ती शिक्षकले अहिले तलब नपाएको बताए ।
‘आंशिक शिक्षकलाई त्रिविले तलब दिएन’, उनले भने, ‘दालचामल विहीन हुनुभएको छ । यस्तो हृदयविहीन बन्न सरकार मिल्दैन ।’
अर्थमन्त्रीले पेश गरेका बजेटका कतिपय प्रावधान शिक्षा मन्त्रीले फरक मत राखेको खाँणले भन्दै व्याङ्ग्य गरेका छन् ।
‘सरकारले ल्याएको बजेट मन्त्रिपरिषदबाट स्वीकृत हुने प्रचलन छ’, उनले भने, ‘यसपटक भयो भएन मन्त्रीजीलाई थाहा होला ।’
उनले भने, ‘अर्थमन्त्रीले पेश गरेको बजेटका कतिपय प्रावधानमा स्वयम् शिक्षामन्त्री नै गीत गाउँदै हिँड्नुभएको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया