जनतालाई घरभित्र थुनेर कर उठाउने कम्युनिस्ट सरकारको कांग्रेसद्वारा विरोध

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले जनतालाई लकडाउनमा राखेर कर तिर्न ताकेता गरेपछि प्रमुख विक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गरेर कर तिर्न कम्युनिस्ट सरकारले गरेको ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन् । लकडाउने सबै जनता समस्यामा परेका बेला राहत दिने गरी कार्यक्रम ल्याउनुपर्नेमा कम्युनिस्ट सरकारले ताकेता गरेपछि कांग्रेस जबरजस्त रुपमा विरोधमा उत्रिएको हो ।

‘साना—ठूला व्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभागमार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘व्यवसायीहरूले भोग्नु परेको व्यावसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियो’, देउवाले भनेका छन्, ‘प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार विलकुल गम्भीर भएन ।’

‘लक डाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो’, विज्ञप्तिमा भनिएको छ ।

‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन’, कांग्रेस सभापति देउवाले भनेका छन् ।

‘कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने एवम् गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर भएन’, कांग्रेसले भनेको छ ।

‘व्यापक पीसिआर परीक्षण गरेर साना—ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसंग देखिएन’, देउवाले भने, ‘समग्र व्यावसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरूसंग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ पनि सरकारको ध्यान गएन ।’

‘लकडाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदना विहीन रहेको पुष्टि भएको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न म अपील गर्दछु’, देउवाले भनेका छन् ।

‘जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्युनिस्ट सरकारले आन्तरिक राजश्व विभागमार्फत सार्वजनिक सूचना जारी गरेर जेठ २५ गतेभित्र कर तिर्न ताकेता गरेको छ ।

कोरोना भाइरस र लकडाउनका कारण सबै जनता घरभित्र बसेका बेला कम्युनिस्ट सरकारको यो हर्कतले कांग्रेस रिसाएको हो ।

Published : Wednesday, 2020 June 3, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया