लकडाउन खोलौँ, अन्यथा अरु समस्या आउँछः डा. समिर दीक्षित

काठमाडौं । जनस्वास्थ्य अनुसन्धानकर्ता डा.समिर दीक्षितले लकडाउनको औचित्य घट्दो गएको भन्दै यसलाई खोल्न सुझाव दिएका छन् ।

आइतबार ट्वीटरमा भिडियो सन्देश जारी गर्दै डा.दीक्षितले कोरोना भाइरस (कोभिड १९)ले भन्दा पनि अन्य रोग र समस्याले ठूलो संकट निम्ताउन सक्ने चेतावनी दिएका हुन् ।

‘लकडाउनको औचित्य घट्दो छ, साथै पूरै देशलाई एउटै आँखाले हेर्दा राज्यले अन्य ठूला दुर्घटनाहरू निम्त्याइरहेको छ’, उनले भनेका छन् ।

‘लकडाउन किन गरियो ? संक्रमण समाजमा फैलिएला भन्ने डरले गरियो । त्यो एकदमै स्वागत योग्य कमद थियो’, डा.दीक्षितले भनेका छन्, ‘राज्यलाई धन्यावाद । अहिले हामी लकडाउनको छैठौँ हप्तामा छौँ । जोखिम भएका ठाउँहरूलाई हामीले पत्ता लगाइसकेका छौँ ।’

‘सीमित टेस्ट भएको होला । तर, संक्रमण भएको ठाउँ पत्ता लागिसकेको छ । भारतसँग जोडिएका नाकाहरूका साथै अन्य जिल्लाहरूमा संक्रमण हुन सक्ने सम्भावना देखेका छौँ’, उनले भने, ‘ती ठाउँहरूलाई उच्च जोखिममा राखिसकेका छौँ । बाँकी भागमा, जहाँ विगत ३–४ हप्तादेखि कुनै केस देखिएको छैन ।’

‘सीमित टेस्ट भएपनि, अस्पताल आउने र भर्ना भएका बिरामीहरू हेर्दा वा यी सबै कुरालाई आधार बनाउने हो भने जहाँ–जहाँ ३–४ हप्ता भइसक्यो कुनै नयाँ केस, संक्रमण देखिएको छैन’, डा.दीक्षितले भने, ‘त्यहाँ किन हामीले लकडाउनलाई निरन्तरता दिइरहेका छौँ ? सारा देशलाई एउटै तरिकाले हेर्न भएन ।’

‘त्योभन्दा महत्वूर्ण नेपाललाई ईण्डियासँग युरोपसँग, अमेरिकासँग तुलना गर्नु भएन’, उनले भनेका छन्, ‘किन भने नेपालको आफ्नै समस्या छन्, आफ्नै समाधान छन् ।’

‘त्यसले गर्दा हामीलाई संक्रमणमा जसले जे भनेपनि टेस्ट गर्नुपर्छ । जे भनेपनि कोभिड १९ को संक्रमण कम छ’, उनले भने, ‘कडा लक्षणका मान्छेहरू अहिलेसम्म देखिएको छैन ।’
‘अब हामीले जहाँ जोखिम कम भएको छ त्यहाँ लकडाउन खोल्न थालौँ । किन भने लकडाउनको औचित्य त्यो बेला घट्न थाल्छ जब संक्रमण नयाँ समयमा देखिदैन’, डा.दीक्षितले भनेका छन् ।

‘जहाँ कोभिड १९ देखिएको छैन त्यहाँ लकडाउनलाई निरन्तरता दिएर काम छैन’, उनले भने, ‘टेस्टलाई साइडमा गर्दै जाऔँ । विस्तारै लकडाउनलाई खोल्दै जानुपर्छ ।’

‘अन्यथा कोभिड १९ बाहेक मान्छेलाई मार्ने रोगहरू नेपालमा थुप्रै छन्’, उनले प्रश्न गर्दै भने, ‘खोप नपाएर, मानसिक स्वास्थ्य, त्योभन्दा डरलाग्दो अवस्था हाम्रो अर्थतन्त्र बिग्रियो भने के हुन्छ ?’

‘संसारभरि अर्थतन्त्र बिग्रिएको बेला नेपालले आफूलाई उकास्न सक्यो भने हामीलाई फाइदा पनि हुन्छ’, डा.दीक्षितले भने, ‘राज्यले लकडाउनलाई खोल्नेतिर लाग्नुपर्छ ।’

‘अब लकडाउन सबैतिर एकसाथ गर्दा काम पनि छैन । साध्य पनि छैन’, उनले भने, ‘लकडाउन जारी रह्यो भने भयाबह अवस्था आउन सक्छ ।’

लकडाउनको समस्या रहेका बेला जनस्वास्थ्य अनुसन्धानकर्ता डा.दीक्षितले सरकारलाई लकडाउनको स्वरुप बदल्न सुझाव दिएका हुन् ।

Published : Sunday, 2020 May 3, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया