यी हुन् शनिबार राति बामदेवलाई भाइरल बनाउने पात्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद शनिबार रातिदेखि धेरै हदसम्म अन्त्य भएको छ ।

वरिष्ठ नेता माधवकुरमा नेपालको असन्तुष्टिसँगै नेकपाको विवाद पूर्णरुपमा अन्त्य हुन भने सकेन । नेता नेपालले दुई नेताबीच ‘चोचोमोचो’ मिल्दैमा सबै कुराको समाधान हुन नसक्ने भनेपछि नेकपामा अझै पनि विवाद छ भन्ने संकेत गरेको छ ।

नेता नेपालको असन्तुष्टिले त्यति धेरै महत्व नराख्न सक्छ । तत्कालका लागि ओलीको कुर्सी बचेको छ । संकट टरेको छ ।

त्यति मात्रै होइन उपाध्यक्ष बामदेव गौतमको मागको पनि सुनुवाई भएको छ । गौतमको प्रधानमन्त्री बन्ने माग सचिवालयले नोटिसमा राखेको छ ।

बैठकमा सचिवालयका ९ जना सबै सदस्यहरूले धारणा राखेका थिए । धारणा राख्ने क्रममा पार्टी र सरकारबीचको बेमेल, प्रधानमन्त्री ओलीको एकलौटी निर्णय गर्ने परम्परा, गुटको भेला लगायतका विषयमा नेताहरूले खुलैरै आलोचना गरेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नै बैठकमा आत्मालोचना भएको बताएका छन् ।

सबै कुरामा ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आत्मालोचना गरेका थिए । ओलीले आफ्नो छेउबाट हटाएको प्रचण्डको कुर्सी शनिबार पुनः आफ्नै नजिक ल्याएका थिए ।

बैठकमा सबै कुरा नेताहरूले राखेपछि स्थायी समितिको बैठक वैशाख २५ गते बोलाउने निर्णय भयो । बैठक करीव–करीव सम्पन्न हुनै लाग्दा हलमा एकजना सचिवालय सदस्यको आवाज सुनियो । त्यो आवाज थियो, उपाध्यक्ष बामदेव गौतमको ।

गौतमले भने, ‘सबै कुरा भयो, मेरोबारेमा के गर्ने हो ?’ त्यसको जवाफमा ओलीले भने, ‘उपयुक्त समयमा तपाईलाई प्रतिनिधि सभामा ल्याइनेछ ।’ ओलीले दिएको जवाफबाट गौतम आस्वस्त हुन भने सकेका छैनन् । भैँसेपाटी गठबन्धन तोडेका गौतमलाई यस पटक पनि ठूलो धक्का लागेको छ । अस्थिर हुनुको घाटा गौतमलाई लागेको छ ।

ओलीले राजीनामा दिने निर्णय होला र प्रधानमन्त्री बनुलाँ भनेर आशामा बसेका गौतमलाई त्यस बेला झट्का लाग्यो जब उनको एजेण्डा नै बैठकमा प्रवेश पाएन ।

बरु ओली निकटका केही सल्लाहकारहरूले बालुवाटारबाटै गौतमलाई पाल्पा क्षेत्र नम्बर १ बाट दलबहादुर रानालाई राजीनामा गराएर उम्मेदवार बनाइ जिताएर ल्याइ प्रधानमन्त्री बनाउने भन्ने समाचार लेखाउन भ्याए ।

गौतमलाई पाल्पा १ बाट उम्मेदवार बन्ने वा नबने भन्ने विषयको जानकारी नै थिए । तर, गौतम बैठकबाट बाहिर नआउँदै पाल्पा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने समाचार भाइरल बनिसकेको थियो । सामाजिक सञ्जालमा गौतमको आलोचना र समर्थन दुबै पक्षले धमाधम स्टाटस लेखिरहेका थिए ।

ओलीको सचिवालयभित्र रहेका केही सल्लाहकारहरूले गौतमलाई फिटिक्कै मन पराउँदैनन् । गौतमकै कारण ओलीलाई शनिबारको सचिवालयमा सजिलो भएको जान्दा जान्दै पनि ती सल्लाहकारहरू आफ्नो अभियानमा यथावत रहेको स्रोतको भनाइ छ ।

भैँसेपाटी गठबन्धनबाट गौतमले धोका दिएकै कारण ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद बचाउन सजिलो भयो । त्यति मात्रै होइन नेकपाभित्रको विवाद मिलाउन चिनियाँ पक्ष खुलेरै मैदानमा उत्रिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिङ पिङबीचको टेलिफोन वार्ता, राष्ट्रपति भण्डारीसँग नेपालका लागि चीनकी राजदूत हाउ यान्छीको भेटले पनि नेकपाको विवाद समाधान गर्न ठूलो भूमिका खेलेको चर्चा छ ।

नेकपाभित्र ठूलो विवाद भइरहेका बेला राजदूत यान्छीले नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई उनीहरूकै निवासमा पुगेर भेट गरिन् ।

राजदूत यान्छीले पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपाललाई कुटनीतिक मर्यादाअनुसार भेट गरेकी थिइन् वा थिइनन् त्यो आफ्नो ठाउँमा छ । यसको खोजबिन हुँदै जानेछ ।

चीनले नेपालको आन्तरिक राजनीतिमा देखाएको चासो र दख्लले दीर्घकालीन रुपमा ठूलो असर पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Published : Sunday, 2020 May 3, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया