कोरोनाका सामग्री चोर्ने ‘चोर’हरूविरुद्ध नेविसंघद्वारा भरतपुरमा प्रदर्शन

भरतपुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनले भरतपुर कोरोना अस्पतालमा भएको भ्रष्टाचार र सामान चोरीका दोषीलाई कारबाही गर्न माग गरेर प्रदर्शन गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरूले बिहीबार चितवनको भरतपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शन नेविसंघका अध्यक्ष सूर्य ढकालको नेतृत्वमा भरतपुरको पुरानो मेडिकल कलेज नजिकै सडकमा भएको थियो ।

नेविसंघले भरतपुर कोरोना अस्पतालका सामान चोरी गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध कर्मचारीहरूलाई कारबाहीको माग गरेका छन् । उनीहरूले स्वास्थ्य सामग्री खरिदमा भएकाे भ्रष्टाचार गर्नेहरूलाई पनि कारबाही गर्न माग गरेका छन् ।

नेकपा निकटक कर्मचारीहरूले कोरोना भाइरसको संक्रमितको उपचार गर्न प्रयोग हुने स्वास्थ्य सामग्रीहरू नेकपा निकटका कर्मचारीहरूले चोरी गरेको सीसीटीभीको भिडियोमा देखिएको भन्दै अध्यक्ष ढकालले दोषीहरूलाई हदैसम्मको कारबाही माग गरे ।

संकटको बेला सबै मिलेर कोरोना भाइरससँग लड्नुपर्ने बेला कोरोना अस्पतालमा कार्यरत नेकपा निकटका कर्मचारीहरूले सामान चोरी गर्नु अत्यन्तै लज्जाजनक रहेको नेविसंघका अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले लकडाउनका बेला पनि नेविसंघले जाेखिम उठाएर सचेत गराउन प्रदर्शन गरेकाे भन्दै सहज अवस्था भयाे भने पुनः भ्रष्टाचारी र सामान चाेरीमा संलग्नहरूविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

नेविसंघकाे प्रदर्शनमा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जाेशीकाे पनि सहभागिता रहेकाे थियाे । जाेशीले पनि काेराेना अस्पतालमा भएकाे चाेरीकाे घटनाका दाेषीलाई उन्मुक्ति दिन र ढाकछाेप गर्न खाेजेकाे भन्दै चिन्ता जनाए । गलत कुरालाई संरक्षण नगर्न सराेकारवालाहरूलाई जाेशीले चेतावनी दिएका छन् ।

Published : Thursday, 2020 April 30, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया