सांसद नपुगेपछि ओली समूहले राष्ट्रिय सभामा हातहाल्यो, गृहमन्त्री र आपूर्तिमन्त्री प्रचण्डसँगै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै जाँदा प्रतिनिधि सभाका सांसदहरूको हस्ताक्षरसम्मको गतिविधि शुरु भएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सांसदहरूलाई बालुवाटारमा बोलाएर पालैपालो छलफल गरेपछि विवादले नयाँ मोड लिएको हो ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट मानिने २० जना स्थायी समिति सदस्यहरूले बैठकको माग गरेर ओली–प्रचण्डलाई पत्र बुझाएका थिए ।
उनीहरूको पत्रबाट दवावमा परेका ओलीले स्थायी समितिको बैठकबाट बच्नका लागि सात वटै प्रदेशका सांसदहरूलाई बालुवाटारमा बोलाएर आफ्नो बचाउ गर्न निर्देशन दिएका थिए ।
सत्ताको बागडोर सम्हालेको साढे दुई वर्षपछि ओलीलाई सांसदहरूको याद आएको छ । प्रधानमन्त्री पदको कुर्सी हल्लिएपछि ओलीले सांसदहरूलाई फकाइरहेका छन् ।
तर, ओलीलाई सांसदहरूले विश्वास गरिरहेका छैनन् । ओली निकट मानिने एकजना सांसदले पनि ओलीको कार्यशैल देश र जनता तथा पार्टीका लागि उचित नरहेको बताए ।
‘म ओली निकटकै सांसद हुँ । उहाँले देश र जनताका लागि केही गर्नुभएको छैन’, ती सांसदले भने, ‘ओलीको गुट छाड्ने अवस्था मलाई छैन । ओली गुटमा बस्नुपर्ने बाध्यता छ ।’
ओली समूहले प्रतिनिधि सभामा आफूहरूको बहुमत भएको भनेर प्रचार गरिरहेको छ । तर, ओली समूहले प्रचार गरे जस्तो अवस्था छैन । ओली समूहले प्रतिनिधि सभा र राष्ट्रिय सभाका ११६ जना सांसदहरू पुर्याएका छन् ।
बुधबारसम्म दुबै सदनका गरी ओली समूहका ९६ जना सांसदहरूले मात्रै हस्ताक्षर गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीलाई ७८ जना सांसदले मात्रै साथ दिएका छन् । सोमबारको ओलीको भेलामा ७८ जना मात्रै सांसद खुलेर लागेका थिए ।
प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमध्ये ओलीको पक्षमा ७८ र बाँकी ९६ सांसदहरू प्रचण्ड–नेपाल समूहका रहेको जनाइएको छ । ओली समूहले राष्ट्रिय सभाका सांसदहरूलाई समेत गनेर दुईतिहाइ बहुमत आफूहरूको पक्षमा रहेको भनेर भ्रम छरिरहेको एक नेताले बताए ।
प्रचण्ड–नेपाल समूहले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट हटाइ छाड्ने अडान राखेको छ । ओलीले दुबै पद छाड्ने कुनै संकते गरेका छैनन् । बरु नेकपाभित्र पेलेर जाने नीति लिएका छन् ।
त्यति मात्रै होइन ओलीले आवश्यक पु¥यो भने कोरोना भाइरसको संक्रमण देखाएर संकटकाल लागू गर्नेदेखि पार्टी विभाजनसम्मको योजना बनाएको स्रोतको भनाइ छ ।
ओलीलाई साथ दिएको भनिएका गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि प्रचण्डसँगै रहेको एक नेताले बताए । प्रधानमन्त्री ओलीलाई दुई वर्षदेखि भेट्न नपाएका आफ्नै गुटका सांसदहरू पनि ओलीको पक्षमा छैनन् ।
नेकपाभित्र रुखो स्वभावका प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्ड–नेपाल समूहका सांसदहरूलाई फकाउन फोन गर्न थालेका छन् ।
यसरी फोन गर्नेमा सुवासचन्द्र नेम्वाङ, ईश्वर पाेखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सूर्य थापा, गोकुल बास्कोटाहरू रहेको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया